मोनभिसो नेपाल फाउन्डेसनको सहयोगमा गणेशथान मा.वि.का २६० बढी विद्यार्थीलाई विद्यालय पोशाक वितरण

सोलुखुम्बु । नेचासल्यान गाउँपालिका–५ गैरी स्थित श्री गणेशथान माध्यमिक विद्यालयका २६० भन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ।

मोनभिसो नेपाल फाउन्डेसन काठमाडौंको समन्वय तथा Trentino For Langtang, Italy को सहयोगमा शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई विद्यालय पोशाक हस्तान्तरण गरिएको हो।

मोनभिसो नेपाल फाउन्डेसनले गणेशथान माध्यमिक विद्यालयमा यसअघि ८ कोठे पक्की भवन र ६ कोठे शौचालय निर्माण गरिसकेको छ। भौतिक पूर्वाधार निर्माणपछि अहिले विद्यार्थीको प्रत्यक्ष आवश्यकतालाई लक्षित गर्दै विद्यालय पोशाक समेत उपलब्ध गराइएको हो।

विद्यालयका प्रधानाध्यापक विष्णु ढुंगेलले स्वागत मन्तव्य तथा धन्यवाद ज्ञापन गर्दै विद्यालयको विकासमा फाउन्डेसनले निरन्तर सहयोग गर्दै आएकोमा आभार व्यक्त गर्नुभयो। भवन तथा शौचालय निर्माणसँगै विद्यार्थीका लागि पोशाक उपलब्ध गराएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो।

फाउन्डेसनका अध्यक्ष छोङबा लामा शेर्पाले शिक्षा क्षेत्रको विकासका लागि विद्यालयसँग सहकार्य गर्दै आएको बताउनुभयो। आगामी जाडो समयमा विद्यालयका शिक्षकहरूका लागि न्यानो ज्याकेटको व्यवस्था गर्ने घोषणा गर्दै उहाँले विद्यालयको आवश्यकता र प्राथमिकताका आधारमा आगामी दिनमा पनि थप सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेचासल्यान गाउँपालिका–५ का वडा अध्यक्ष राजन कुमार राईले स्थानीय सरकारले गर्न नसकेको काम समेत मोनभिसो नेपाल फाउन्डेसनले विद्यालयमा आएर गरिरहेको बताउनुभयो। उहाँले फाउन्डेसनको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो।

गाउँपालिका उपाध्यक्ष बिना राईले फाउन्डेसनले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो। स्थानीय सरकार र समुदायले फाउन्डेसनको सहयोगलाई सधैँ सम्मान गर्ने बताउँदै उहाँले इच्छाशक्ति र सहकार्यबाट समुदायमा महत्वपूर्ण काम गर्न सकिने बताउनुभयो।

गाउँपालिका अध्यक्ष धनजन राईले शिक्षा क्षेत्रमा विकास र गुणस्तर वृद्धि गर्ने उद्देश्यले स्थानीय सरकार लागिरहेको बताउनुभयो। मोनभिसो नेपाल फाउन्डेसनले स्थानीय सरकारलाई साथ दिँदै विद्यालयको विकासमा महत्वपूर्ण सहयोग गरिरहेको भन्दै उहाँले धन्यवाद व्यक्त गर्नुभयो।

अध्यक्ष राईले विद्यार्थीको शिक्षामा गुणस्तर ल्याउन शिक्षकहरूले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। “हामीले उत्साह दिने हो, तपाईंहरूले काम गर्ने हो” भन्दै उहाँले विद्यालयको शैक्षिक उपलब्धि सुधारतर्फ केन्द्रित हुन आग्रह गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्मा रिन्जी शेर्पाले मोनभिसो नेपाल फाउन्डेसनको सहयोग विद्यालयका लागि महत्वपूर्ण रहेको बताउनुभयो। फाउन्डेसनकै सहयोगमा ८ कोठे पक्की भवन र ६ कोठे शौचालय निर्माण भइसकेको उल्लेख गर्दै अहिले २६० भन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाक उपलब्ध गराउनु विद्यार्थी र विद्यालय दुवैका लागि महत्वपूर्ण सहयोग भएको बताउनुभयो।

कार्यक्रममा फाउन्डेसनका अध्यक्ष छोङबा लामा शेर्पा, कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पा, Trentino For Langtang संस्थाका प्रतिनिधि रोजारियो साला लाइ दोसल्ला, टोपी तथा कदरपत्रद्वारा सम्मान गरिएको थियो। गाउँपालिका अध्यक्ष धनजन राई, उपाध्यक्ष बिना राई , वडा अध्यक्ष राजन कुमार राई र विद्यालयका प्रधानाध्यापक विष्णु ढुंगेलले उहाँलाई सम्मान गर्नुभएको हो।

विद्यालय पोशाक पाएपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए। विद्यालय परिवारले विद्यार्थीको आवश्यकतादेखि विद्यालयको भौतिक पूर्वाधार निर्माणसम्म निरन्तर सहयोग गर्दै आएकोमा मोनभिसो नेपाल फाउन्डेसन र Trentino For Langtang, Italy प्रति धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया