


सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुस्थित टाक्सिन्दु माध्यमिक विद्यालयका १८५ भन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ। मोनभिसो नेपाल फाउन्डेसन काठमाडौंको समन्वय तथा Trentino For Langtang, Italy को सहयोगमा आयोजित कार्यक्रममा विद्यार्थीलाई सर्ट, पाइन्ट, स्वटर र जुत्तासहितको विद्यालय पोशाक वितरण गरिएको हो। विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई न्यानो ज्याकेटसमेत उपलब्ध गराइएको छ।
विद्यालयमा आयोजित कार्यक्रममा सोलुदूधकुण्ड नगरपालिका–१ का वडा अध्यक्ष छोङ्बा शेर्पाको प्रमुख आतिथ्यता तथा मोनभिसो नेपाल फाउन्डेसनका अध्यक्ष छोङ्बा लामा शेर्पा, कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पा, Trentino For Langtang संस्थाका प्रतिनिधि रोजारियो सालाको विशेष उपस्थितिमा विद्यार्थीलाई पोशाक हस्तान्तरण गरिएको हाे ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष छोङ्बा शेर्पाले टाक्सिन्दु क्षेत्रको शिक्षा तथा सामाजिक विकासमा मोनभिसो नेपाल फाउन्डेसनले पुर्याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताए। विद्यालय तथा विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री, पूर्वाधार र अन्य सहयोग उपलब्ध गराउँदै आएकोमा संस्थाप्रति धन्यवाद व्यक्त गर्दै उनले आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिन आग्रह गरे। उनले बालबालिकाको भविष्य निर्माणमा विद्यालय, अभिभावक, स्थानीय सरकार र सहयोगी संस्थाबीचको सहकार्य आवश्यक रहेको बताए।
शिक्षक अभिभावक संघ सदस्य विमला वि.क.ले शिक्षा तथा स्वास्थ्यबाट वञ्चित बालबालिकाका लागि मोनभिसो नेपाल फाउन्डेसनले महत्वपूर्ण सहयोग गर्दै आएको बताउनुभयो। उहाँले संस्थाको सहयोगले आर्थिक तथा भौगोलिक रूपमा कठिन अवस्थामा रहेका बालबालिकाको शिक्षामा ठूलो टेवा पुगेको उल्लेख गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक अबिरमान राईले मोनभिसोले विद्यालयलाई मात्रै नभई समग्र समाजलाई उज्यालो बनाउने काम गरिरहेको बताए। अस्पतालदेखि जलविद्युत आयोजनासम्म संस्थाले योगदान पुर्याउँदै आएको उल्लेख गर्दै उनले विद्यालयलाई ल्यापटप, डेस्कटप, प्रोजेक्टर, खेलकुद सामग्री, विज्ञान प्रयोगशाला, पुस्तकालयलगायत आवश्यक सामग्री उपलब्ध गराएको बताए।
माध्यमिक तहका लागि विज्ञान विषयको शिक्षक आवश्यक परेको अवस्थामा संस्थाले आफ्नै खर्चमा शिक्षकको व्यवस्था गरिदिएको भन्दै प्रधानाध्यापकले खुसी व्यक्त गरे। शिक्षक तथा कर्मचारीका लागि ज्याकेट र विद्यार्थीका लागि आवश्यक सामग्रीसमेत उपलब्ध गराउँदै आएको उनले बताए।
फाउन्डेसनका कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पाले विद्यार्थीलाई सकेसम्म विद्यालय पोशाकमै विद्यालय आउन आग्रह गरे। उनले विद्यालयमा गुणस्तरीय शिक्षामा कुनै कमी हुन नदिन आग्रह गर्दै संस्थाको तर्फबाट गर्न सकिने सहयोगमा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

फाउन्डेसनका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छोङ्बा लामा शेर्पाले आफू पनि यही विद्यालयमा अध्ययन गरेको विद्यार्थी र यही गाउँको नागरिक भएकाले विद्यालयलाई थप उचाइमा पुर्याउन आफ्नो तथा संस्थाको तर्फबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीयको सल्लाह र आवश्यकताअनुसार आगामी दिनमा पनि सहयोग गर्दै जाने बताए।
२०७२ सालको भूकम्पपछि टाक्सिन्दु माध्यमिक विद्यालयको पुनर्निर्माणमा सहयोग गर्दै आएको मोनभिसो नेपाल फाउन्डेसनले पछिल्लो समय विद्यालयको शैक्षिक तथा भौतिक विकासमा निरन्तर सहयोग गर्दै आएको छ।
फाउन्डेसनले विद्यालयमा शिक्षक तथा विद्यार्थीका लागि होस्टेल निर्माण गर्नुका साथै विद्यालय भवन, ल्यापटप, डेस्कटप, प्रोजेक्टर, विज्ञान प्रयोगशाला, पुस्तकालय तथा अन्य शैक्षिक सामग्री उपलब्ध गराएको छ। दिलकुमारी छात्रावास अन्तर्गत छात्र र छात्राका लागि छुट्टाछुट्टै दुईवटा छात्रावाससमेत सञ्चालनमा छन्, जहाँ करिब ४५ देखि ५० जनासम्म बस्न सक्ने क्षमता रहेको विद्यालयले जनाएको छ।

सोलुखुम्बुका विभिन्न विद्यालयमा समेत आवश्यकता र प्राथमिकताका आधारमा विद्यालय भवन, शैक्षिक सामग्री, प्रविधि, प्रयोगशाला, पुस्तकालय तथा विद्यार्थीका लागि आवश्यक सामग्री उपलब्ध गराउँदै आएको फाउन्डेसनले जनाएको छ।

