सगरमाथा मा.वि.का ३५० बढी विद्यार्थीलाई विद्यालय पोशाक, भूकम्प देखी सहयोग गर्दै आएको मोनभिसोको निरन्तर साथ

सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका–६ वाकु स्थित श्री सगरमाथा माध्यमिक विद्यालयका ३५० भन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ। मोनभिसो नेपाल फाउन्डेसन काठमाडौंको समन्वय तथा Trentino For Langtang, Italy को सहयोगमा विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई पोशाक हस्तान्तरण गरिएको हो।

२०७२ सालको भूकम्पपछि नेपालमा संस्था स्थापना गरी भूकम्पबाट क्षतिग्रस्त सगरमाथा माध्यमिक विद्यालयको पुनर्निर्माणमा सहयोग गर्दै आएको मोनभिसो नेपाल फाउन्डेसनले पछिल्लो समय विद्यालयको शैक्षिक विकासमा समेत निरन्तर साथ दिँदै आएको छ।

संस्थाले सगरमाथा माविमा १६ कोठे विद्यालय भवन निर्माण गर्नुका साथै ल्यापटप, डेस्कटप, प्रोजेक्टर, विज्ञान प्रयोगशाला, पुस्तकालय लगायतका शैक्षिक सामग्री उपलब्ध गराएको छ। साथै, संस्थाकै खर्चमा माध्यमिक तहका लागि अंग्रेजी विषयका शिक्षकको समेत व्यवस्था गरिएको विद्यालयले जनाएको छ।

मोनभिसो नेपाल फाउन्डेसनले सोलुखुम्बुका विभिन्न विद्यालयमा समेत आवश्यकता र प्राथमिकताका आधारमा विभिन्न प्रकारका सहयोग गर्दै आएको छ। विद्यालय भवन निर्माण, शैक्षिक सामग्री, प्रविधि, प्रयोगशाला, पुस्तकालय तथा विद्यार्थीका लागि आवश्यक सामग्री उपलब्ध गराउँदै आएको संस्थाको सहयोगले दुर्गम क्षेत्रका विद्यालयको शैक्षिक तथा भौतिक विकासमा महत्वपूर्ण योगदान पुगेको बताइएको छ।

कार्यक्रममा संस्थाका अध्यक्ष छोङ्बा लामा शेर्पाले आफूहरूले सक्ने साथ र सहयोग विद्यालय तथा विद्यार्थीका लागि निरन्तर रहने बताउनुभयो। उहाँले विद्यार्थीहरूको अनुशासन र व्यवहारप्रति खुसी व्यक्त गर्नुभयो।

संस्थाका कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पाले आगामी दिनमा पनि विद्यालयको आवश्यकताअनुसार थप सामग्री उपलब्ध गराउने बताउनुभयो। उहाँले विद्यालयको आवश्यकताबारे जानकारी लिएर आगामी दिनमा सहयोगलाई निरन्तरता दिने जानकारी दिनुभयो।

पूर्ववडाध्यक्ष दिनेश कुमार राईले भूकम्पपछि विद्यालयको पुनर्निर्माणदेखि विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री र पोशाकसम्म सहयोग गर्दै आएको संस्थाको योगदान प्रशंसनीय रहेको बताउनुभयो।

“भूकम्पपछि सुरु भएको सहयोग अहिले पनि निरन्तर रहनु विद्यालय र विद्यार्थीका लागि ठूलो उपलब्धि हो। यस्ता सहयोगले विद्यार्थीको पढाइसँगै मनोबल बढाउन पनि सहयोग पुग्छ,” उहाँले भन्नुभयो।

विद्यालयका प्रधानाध्यापक महल सिंह राईले संस्थाले लामो समयदेखि विद्यालयलाई गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले भवन, प्रविधि, प्रयोगशाला, पुस्तकालय, शिक्षक तथा पोशाकलगायतका सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुगेको बताउनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मोनभिसो नेपाल फाउन्डेसन संस्थाका अध्यक्ष छोङ्बा लामा शेर्पा, कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पा, Trentino For Langtang संस्थाका प्रतिनिधि रोजारियो साला, जनप्रतिनिधि, पूर्ववडाध्यक्ष, शिक्षक, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति थियो।

३५० भन्दा बढी विद्यार्थीले नयाँ विद्यालय पोशाक पाएसँगै विद्यालय परिसरमा छुट्टै उत्साह देखिएको थियो। लामो समयदेखि विद्यालयको भौतिक तथा शैक्षिक विकासमा साथ दिँदै आएको संस्थाको सहयोगबाट पोशाक पाएपछि विद्यार्थीहरूमा खुसी थपिएको छ। नयाँ पोशाकमा सजिएका विद्यार्थीका अनुहारमा देखिएको मुस्कान र उत्साहले सहयोगको महत्व झल्काइरहेको थियो।

प्रतिक्रिया