


काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा पुगेर निरन्तर राहत तथा उद्धारमा खटिएकी कलाकार तथा समाजसेवी माया थामीले १७ दिनपछि राहत वितरणको अभियान रोकेकी छन् ।
भदौ १० गते आएको बाढीपछि थामी प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारको अवस्था बुझ्ने, राहत सामग्री जुटाउने र वितरण गर्ने काममा सक्रिय थिइन् । देश तथा विदेशमा रहेका नेपाली तथा विभिन्न संघ–संस्थासँग समन्वय गर्दै उनले प्रभावित क्षेत्रमा आवश्यक राहत पुर्याउन पहल गरेकी हुन् ।
बाढीका कारण घरबारविहीन तथा समस्यामा परेका परिवारसम्म खाद्यान्न, लत्ताकपडा लगायतका आवश्यक सामग्री पुर्याउने अभियानमा थामी लगातार १७ दिनसम्म दिन रात नै सक्रिय रहिन् । राहत वितरणका क्रममा उनले प्रभावितहरूको पीडा नजिकबाट बुझ्दै तत्काल आवश्यक सहयोगका लागि विभिन्न व्यक्ति तथा संस्थासँग समन्वयसमेत गरिन् ।

थामीले अभिनेता पल शाह र सांसद आशिका तामाङसँग मिलेर पनि बाढी प्रभावित क्षेत्रमा राहत वितरण गरेकी थिइन् । कलाकारिता क्षेत्रमा सक्रिय रहेकी थामीले विपद्को समयमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आफ्नो व्यस्तता पन्छाएर प्रभावितको साथमा उभिएकी हुन् ।
अन्तिम पटक कलाकार थामीले त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित धादिङको गल्छी र गजुरीका अपाङ्गता तथा असक्त परिवारलाई राहत सामग्री वितरण गरेकी छन्। गल्छी गाउँपालिका पुगेर UNIGENIUS PRINT SDN BSD TEAM ले उपलब्ध गराएको किचन सामग्री र लत्ताकपडा बाढी प्रभावितलाई वितरण गरेकी हुन ।

१७ दिनसम्म राहत र उद्धारमा समय बिताएकी थामी अब भने पुनः आफ्नो पेशागत कर्ममा फर्किने भएकी छन् । भदौ १६ गते देखि छायांकन हुदै गरेको रत्यौली चलचित्रको आफ्नो टिमलाई नै पछि राखेर सेवामा खटिएकी थिईन । अब भने उनी शनिबारदेखि फिल्म ‘रत्यौली’को छायांकनमा सहभागी हुँदैछिन् । दोलखामा छायांकन भइरहेको फिल्ममा थामी अनुबन्धित छिन् ।
राहत अभियान तत्कालका लागि रोकिए पनि विपद्मा परेका नागरिकप्रतिको आफ्नो जिम्मेवारी भने समाप्त नभएको थामीको भनाइ छ । सबै राहतको जिम्मा मायाको टिमलाई दिदै उनि आज काठमाडौं आएर भोलि दोलखा लाग्दै छिन । विपद्का बेला कलाकार तथा सार्वजनिक व्यक्तित्वले केवल पर्दामा होइन, वास्तविक जीवनमा पनि समाजका लागि योगदान दिनुपर्ने सन्देश उनको १७ दिने अभियानले दिएको छ ।
बाढीपछि प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउन सक्रिय रहेकी थामी अब चलचित्रको सेटमा फर्किंदै गर्दा उनको १७ दिने सामाजिक अभियान भने धेरैका लागि सम्झनायोग्य बनेको छ ।


