नेचासल्यानको एकीकृत सेवा प्रवाह शिविरबाट ५१० नागरिक लाभान्वित

काठमाडौं – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले काठमाडौँमा सञ्चालन गरेको एकीकृत सेवा प्रवाह शिविर–२०८३ बाट दुई दिनमा ५१० जना नागरिकले सेवा लिएका छन्।

भदौ १४ र १५ गते काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सञ्चालन भएको शिविरमा गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्मका नागरिकलाई लक्षित गरी वडाबाट उपलब्ध हुने विभिन्न सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

शिविरमा विभिन्न सिफारिस, नागरिकता सिफारिस, सामाजिक सुरक्षा नवीकरण, मालपोत दस्तुर, व्यक्तिगत घटना दर्ता तथा प्रतिलिपि, ज्येष्ठ नागरिक परिचयपत्र र राष्ट्रिय परिचयपत्र कार्ड वितरणलगायतका सेवा उपलब्ध गराइएको थियो।

गाउँपालिकाको तथ्याङ्कअनुसार सामाजिक सुरक्षा नवीकरणतर्फ सबैभन्दा बढी १७६ जनाले सेवा लिएका छन्। यस्तै, मालपोत दस्तुरतर्फ १६० जना, अन्य सिफारिसतर्फ ५० जना, राष्ट्रिय परिचयपत्र कार्ड वितरणतर्फ ३७ जना, जन्मदर्ता २५ जना, व्यक्तिगत घटना दर्ता प्रतिलिपि १३ जना, विवाहदर्ता १२ जना, ज्येष्ठ नागरिक परिचयपत्र ११ जना र नागरिकता सिफारिसतर्फ ९ जनाले सेवा लिएका छन्।

यसैगरी बसाइँसराइसम्बन्धी ७ जना, नाता प्रमाणित ६ जना, मृत्युदर्ता ३ जना र सम्बन्धविच्छेदसम्बन्धी १ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ।

दुई दिनमा सञ्चालन भएको शिविरबाट कुल ५१० जना नागरिकले सेवा लिएका छन् भने गाउँपालिकाले ६७ हजार २० रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

गाउँपालिकाले काठमाडौँ लगायत जिल्लाबाहिर बसोबास गर्दै आएका नागरिकलाई स्थानीय तहबाटै उपलब्ध हुने सेवा सहज रूपमा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरेको हो। दुई दिनसम्म सञ्चालन भएको उक्त शिविर आजबाट सम्पन्न भएको छ।

प्रतिक्रिया