काठमाडौंमा नेचासल्यान गाउँपालिकाको एकीकृत सेवा प्रवाह शिविर सुरू, नागरिकलाई गाउँमै पुग्नुपर्ने झन्झटबाट राहत

काठमाडौं । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले काठमाडौंमा आयोजना गरेको एकीकृत सेवा प्रवाह शिविर आज बिहानदेखि सुरु भएको छ। सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सुरु भएको शिविर भोलिसम्म सञ्चालन हुनेछ।

गाउँपालिका उपाध्यक्ष विना राईले नागरिकलाई सहज रूपमा स्थानीय तहका सेवा उपलब्ध गराउन शिविर आयोजना गरिएको बताउनुभयो।

पूर्वमन्त्री बलबहादुर केसीले कामका सिलसिलामा काठमाडौंमा रहेका नागरिकलाई स्थानीय तहको सेवा लिन गाउँ फर्किनुपर्ने अवस्था कम हुनु सकारात्मक भएको बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य प्रकाश सिंह कार्कीले गाउँपालिकाको टोली काठमाडौंमै आएर नागरिकलाई सेवा दिनु सराहनीय काम भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने मा जोड दिनुभयो ।

गाउँपालिका अध्यक्ष धनजन राईले नागरिकको सेवा गाउँपालिकाको पहिलो प्राथमिकता रहेको र दुई दिनको अवधिमा सकेसम्म धेरै नागरिकका समस्या समाधान गर्ने गरी सेवा प्रवाह गर्ने जानकारी दिनुभयो।

शिविरमा जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। शिविरमा सामाजिक सुरक्षा, प्रशासनिक लगायत स्थानीय तहबाट उपलब्ध हुने विभिन्न सेवा प्रदान भइरहेको छ। ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकलाई प्राथमिकता दिई सहज रूपमा सेवा उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया