


काठमाडौँ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७, गार्मामा अवस्थित गार्मा माध्यमिक विद्यालयको दीगो आर्थिक व्यवस्थापन तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सञ्चालन गरिएको ‘करोड अक्षयकोष स्थापना अभियान’ले मूर्त रूप पाएको छ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा अभियानअन्तर्गत हालसम्म १ करोड १७ लाख ४६ हजार २ सय ४७ रुपैयाँ संकलन भएको मध्ये १ करोड १५ लाख रुपैयाँ विद्यालयलाई अक्षयकोषका रूपमा हस्तान्तरण गरिएको छ।

विद्यालयको शैक्षिक विकासलाई दीर्घकालीन रूपमा सहयोग पुर्याउने उद्देश्यले सुरु गरिएको अभियानमा हालसम्म १४४ जना दाताले योगदान गरेका छन्। अभियानमा २ हजार रुपैयाँदेखि २ लाख ११ हजार रुपैयाँसम्म सहयोग प्राप्त भएको छ।
अभियानमा सबैभन्दा बढी सहयोग गर्ने दातामध्ये छेवाङ शेर्पा हिमालीले २ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। दक्षिण कोरिया, अमेरिकाका विभिन्न स्थान तथा काठमाडौंलगायत क्षेत्रमा रहेका व्यक्तिहरूको पहल र नेतृत्वमा रकम संकलन गरिएको आर्थिक संकलन समितिका सह–संयोजक सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य प्रकाश सिंह कार्कीले सभ्य र शिक्षित समाजको परिकल्पना गुणस्तरीय शिक्षाबाट मात्र सम्भव हुने बताए। विभिन्न उद्देश्यका लागि सहयोग संकलन गर्ने तर दातालाई समयसँगै बिर्सने प्रचलन रहेको उल्लेख गर्दै उनले गार्मा माध्यमिक विद्यालयले दाताहरूलाई सम्मान गरेर असल अभ्यासको सुरुआत गरेको बताए।

अक्षयकोष हस्तान्तरण कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले समुदायले शिक्षा क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको भन्दै गार्मा माविको पहल उदाहरणीय रहेको बताए। उनले राज्यको एकल लगानीबाट मात्र अपेक्षित शैक्षिक गुणस्तर कायम गर्न कठिन हुने उल्लेख गर्दै गैरसरकारी क्षेत्र तथा समुदायस्तरबाट समेत यस प्रकारको सक्रियता र तदारुकता आवश्यक रहेको बताए।
कार्यक्रममा जिल्ला विकास समितिका पूर्व उपसभापति प्रेमकुमार श्रेष्ठ, गार्माका पूर्व वडाध्यक्ष लालमान श्रेष्ठ, वडा सदस्य भलाकाजी कार्की, विद्यालयका प्रधानाध्यापक विनोद सिंह तामाङ, आर्थिक संकलन समितिका कोषाध्यक्ष कर्मा शेर्पाले अक्षयकोषको महत्व, यसको उपयोगिता, प्रभावकारिता तथा कोष सञ्चालनका विषयमा आ–आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा गणेश गुठी समाजका अध्यक्ष गणेश श्रेष्ठ, गार्मा किदुक संस्थाका अध्यक्ष छिरिङ शेर्पा, क्लासरुम इन द क्लाउडका कोषाध्यक्ष गोम्बु शेर्पा, कन्ट्री डाइरेक्टर साम्देन शेर्पालगायत विभिन्न दाताहरूको उपस्थिति रहेको थियो।
गार्मा माध्यमिक विद्यालयले कृषि तर्फ बाली विज्ञान, सुस्त श्रवण कक्षा सहित अज्रेजी माध्यमबाट पठनपाठन गराउदै आएको छ ।

