


काठमाडौं । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको अति प्रभावित क्षेत्रमा नेचासल्यान गाउँपालिकाका पाँचवटै वडालाई समावेश गराउन दबाब सिर्जना गर्ने उद्देश्यले काठमाडौंमा स्थानीय नागरिकसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको छ।
साउन २३ गते काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट नेचासल्यान गाउँपालिकाका पाँचवटै वडा प्रभावित हुने विषयमा स्थानीय नागरिक, जनप्रतिनिधि तथा सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया गरिएको हो।

कार्यक्रमबाट पाँचवटै वडालाई आयोजनाको अति प्रभावित सूचीमा समावेश गराउन आवश्यक पहल र दबाब सिर्जना गर्ने उद्देश्यले २६ सदस्यीय समन्वय तथा संघर्ष समिति गठन गरिएको छ।
गठित समितिको संयोजकमा सीताराम काफ्ले रहेका छन्। सहसंयोजकमा सुरेश बाबु जमर कटेल र अशोक झा तथा सदस्य–सचिवमा बाबुराम आचार्य रहेका छन्। समितिमा विभिन्न क्षेत्रका प्रतिनिधिसहित २६ जना रहेका छन्।

त्यस्तै, समितिलाई आवश्यक सुझाव तथा मार्गदर्शन प्रदान गर्न सल्लाहकार समिति पनि गठन गरिएको छ। सल्लाहकार समितिको संयोजकमा प्रतिनिधिसभा सदस्य प्रकाश सिंह कार्की रहेका छन् भने सदस्यमा प्रतिनिधिसभा सदस्य रिना उप्रेती केसी, वरिष्ठ अधिवक्ता मातृका निरौला, नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई र उपाध्यक्ष बिना राई रहेका छन्।

कार्यक्रममा सहभागी सरोकारवालाले आयोजनाबाट पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै नेचासल्यान गाउँपालिकाका पाँचवटै वडालाई अति प्रभावित क्षेत्रको सूचीमा समावेश गर्नुपर्नेमा जोड दिएका थिए।
स्थानीयको मागलाई थप संगठित र प्रभावकारी रूपमा अघि बढाउन गठित समन्वय तथा संघर्ष समितिले सम्बन्धित निकायसँग समन्वय, छलफल तथा आवश्यक दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने बताइएको छ।

