देवानगञ्ज घटनामा विश्व हिन्दु महासंघको आपत्ति, उच्चस्तरीय न्यायिक छानबिनको माग

काठमाडौं । विश्व हिन्दु महासंघ (केन्द्रीय/अन्तर्राष्ट्रिय समिति) ले सुनसरीको देवानगञ्जसहित देशका विभिन्न स्थानमा पछिल्ला दिनमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडितलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

महासंघका महासचिव शम्भुहरि बास्तोलाद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा देवानगञ्ज घटनामा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र गणेश यादवको मृत्यु भएको उल्लेख गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको सम्पूर्ण उपचारको जिम्मेवारी राज्यले वहन गर्नुपर्ने महासंघको माग छ।

महासंघले घटनालाई सामान्य सुरक्षा चुनौतीका रूपमा नभई धार्मिक स्वतन्त्रता, नागरिक अधिकार र विधिको शासनसँग जोडिएको गम्भीर राष्ट्रिय विषयका रूपमा व्याख्या गरेको छ। विज्ञप्तिमा घटनाको वास्तविकता सार्वजनिक गर्न उच्चस्तरीय स्वतन्त्र न्यायिक छानबिन समिति गठन गर्नुपर्ने, घटनासँग सम्बन्धित भिडियो, सीसीटीभी तथा अन्य डिजिटल प्रमाण सार्वजनिक गर्नुपर्ने माग गरिएको छ।

त्यस्तै, अनावश्यक बल प्रयोगको आदेश दिने वा कार्यान्वयन गर्ने जोसुकै भए पनि कानुनबमोजिम निष्पक्ष अनुसन्धान गरी कारबाही गर्न सरकारसँग आग्रह गरिएको छ।

महासंघले मृतकलाई सहिद घोषणा गरी पीडित परिवारलाई सम्मानजनक क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको पूर्ण उपचार तथा दीर्घकालीन भरणपोषणको व्यवस्था गर्न र देशभरका मठ–मन्दिर तथा धार्मिक स्थलहरूको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। साथै नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि ठोस राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

विज्ञप्तिमा सुनसरी, सिरहा, धनुषा र पर्सालगायत जिल्लामा जारी कर्फ्युले परिस्थिति संवेदनशील बनेको उल्लेख गर्दै राज्यको पहिलो दायित्व नागरिकको जीवन, धार्मिक स्वतन्त्रता र सार्वजनिक विश्वासको रक्षा गर्नु भएको बताइएको छ।

महासंघले बहुसंख्यक नागरिकको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थाको संरक्षण राज्यको संवैधानिक तथा कानुनी दायित्व भएको उल्लेख गर्दै न्यायमा हुने ढिलाइले पीडितमाथि अन्याय मात्र नभई राज्यप्रतिको जनविश्वाससमेत कमजोर हुने चेतावनी दिएको छ।

विज्ञप्तिको अन्त्यमा महासंघले सम्पूर्ण सनातनी हिन्दु समुदायलाई संयम, अनुशासन र राष्ट्रिय उत्तरदायित्वका साथ एकताबद्ध रहन आह्वान गरेको छ। साथै नेपाल सरकारलाई संविधान, कानुन र राष्ट्रिय दायित्वअनुसार सबै नागरिकको आस्था, सुरक्षा तथा मौलिक अधिकारको संरक्षण गर्दै राष्ट्रिय एकता, धार्मिक सद्भाव र शान्ति कायम गर्न आग्रह गरेको छ।

प्रतिक्रिया