‘सरकारले प्रश्न होइन, आवाज दबाउन खोज्दैछ’ — सांसद प्रकाश सिंह कार्कीको संसदमा कडा प्रश्न

काठमाडौं, साउन १४ — नेपाली कांग्रेसका सांसद प्रकाश सिंह कार्की ले प्रतिनिधिसभा बैठकमा सरकारमाथि कडा प्रश्न उठाउँदै लोकतान्त्रिक मूल्य, सुशासन, महँगी नियन्त्रण, युवाको पलायन तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा सरकारको भूमिका कमजोर भएको आरोप लगाएका छन्।

संसदको विशेष समयमा बोल्दै सांसद कार्कीले सर्वप्रथम सुनसरीको कप्तानगञ्जमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको सत्यतथ्य छानबिन गरी सामाजिक सद्भाव कायम गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर बन्नुपर्ने बताए।

त्यसपछि उनले काठमाडौंमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको निवास र एक प्रमुख सञ्चारगृहको गेटअगाडि शंकास्पद रूपमा पार्किङ गरिएका सवारीसाधनको प्रसंग उठाउँदै त्यसबारे सरकारको भूमिकामाथि प्रश्न गरे। सञ्चारगृहअगाडि राखिएको गाडी सरकारी गृहमन्त्रीले प्रयोग गरेको भन्ने सार्वजनिक समाचारले थप गम्भीर प्रश्न खडा गरेको उनको भनाइ थियो।

“यो केवल गाडी पार्किङको विषय होइन, स्वतन्त्र अभिव्यक्ति र लोकतान्त्रिक गतिविधिलाई त्रसित बनाउने प्रयास हो,” उनले भने। सरकारले प्रश्न गर्ने वातावरणलाई नै नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै दोषीमाथि निष्पक्ष छानबिन र कारबाहीको माग गरे।

सांसद कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर दबाब दिएको भन्ने सार्वजनिक समाचारप्रति पनि सरकारसँग जवाफ मागे। अख्तियारलाई अझ सशक्त बनाउनुपर्ने भए पनि संवैधानिक निकायलाई सरकारको प्रभावमा चल्ने संस्था बनाउन नहुने उनको धारणा थियो।

सरकार गठन भएको चार महिना पूरा भएको उल्लेख गर्दै उनले यो समय सरकारको प्रारम्भिक कार्यशैली मूल्याङ्कन गर्न पर्याप्त भएको बताए। सरकारको सय दिने उपलब्धि प्रेस विज्ञप्तिले नभई जनताको जीवनस्तर, सुशासनको अनुभूति, सेवा प्रवाह, रोजगारी र बजारको अवस्थाले मूल्याङ्कन हुने उनको भनाइ थियो।

उनले देशको सबैभन्दा ठूलो चुनौती महँगी भएको उल्लेख गर्दै खाद्यान्न, तरकारी, इन्धन, शिक्षा र स्वास्थ्य सेवाको लागत निरन्तर बढिरहेको तर नागरिकको आम्दानी स्थिर रहेको बताए। बजार अनुगमन प्रभावकारी बनाउन, उपभोक्ता संरक्षण कानुन कडाइका साथ लागू गर्न तथा महँगी नियन्त्रणका लागि सरकारसँग प्रभावकारी हस्तक्षेपको माग गरे।

युवाको बढ्दो विदेश पलायनप्रति चिन्ता व्यक्त गर्दै सांसद कार्कीले आफ्नै देशमा अवसर नपाएर हजारौं शिक्षित युवा विदेशिन बाध्य हुनु राष्ट्रकै भविष्यका लागि चुनौती भएको बताए। रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन र लगानीमैत्री वातावरण निर्माण गरेर युवालाई नेपालमै भविष्य देखाउन सरकार असफल भएको उनको आरोप थियो।

सुशासन र भ्रष्टाचार नियन्त्रणका विषयमा पनि उनले सरकारको प्रतिबद्धता व्यवहारमा नदेखिएको टिप्पणी गरे। भ्रष्टाचारका मुद्दा वर्षौंसम्म अल्झिने, सार्वजनिक खरिदमा प्रश्न उठिरहने र दण्डहीनताको संस्कृति अन्त्य हुन नसकेको भन्दै कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिए।

नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, मालपोत तथा सामाजिक सुरक्षालगायत आधारभूत सार्वजनिक सेवामा अझै पनि ढिलासुस्ती र प्रशासनिक झन्झट कायम रहेको उल्लेख गर्दै उनले सेवा प्रवाहलाई नागरिकमैत्री र प्रविधिमैत्री बनाउन आग्रह गरे। सीमा सुरक्षा, साइबर सुरक्षा र आन्तरिक सुरक्षाका चुनौतीलाई पनि सरकारले दीर्घकालीन रणनीतिका साथ सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।

भाषणको अन्त्यमा सांसद कार्कीले नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य, संविधानको सर्वोच्चता, विधिको शासन र उत्तरदायी शासन व्यवस्थाप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै प्रतिपक्षको भूमिका अवरोध सिर्जना गर्नु नभई सरकारलाई जिम्मेवार बनाउनु भएको बताए।

उनले महँगी नियन्त्रण, रोजगारी सिर्जना, कृषि, उद्योग, पर्यटन र निजी क्षेत्रलाई लगानीमैत्री वातावरण, सेवा प्रवाह सुधार, भ्रष्टाचारमाथि शून्य सहनशीलता तथा संविधान र विधिको शासनलाई शासनको केन्द्रमा राख्न सरकारसँग आग्रह गरे।

“हामी प्रतिपक्षमा छौं, तर राष्ट्रहितको विपक्षमा छैनौं। सरकारको राम्रो काममा साथ दिन्छौं, तर जनताको पीडा ओझेलमा पर्दा मौन बस्दैनौं, किनकि हाम्रो पहिलो दायित्व सत्ता होइन, जनता हुन्,” भन्दै उनले आफ्नो मन्तव्य समाप्त गरे।

प्रतिक्रिया