


काठमाडौं । नेपाली विवाहित महिलाहरूको प्रतिष्ठित राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ का लागि आवेदन खुला गरिएको छ। रिवन इन्टरटेनमेन्ट प्रालिले बुधबार ललितपुरस्थित होटल द स्क्वायरमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको औपचारिक घोषणा गरेको हो।
आयोजकका अनुसार प्रतियोगिताको पहिलो चरणको अडिसन साउन २३ गते काठमाडौंमा आयोजना हुनेछ भने ग्रान्ड फिनाले कात्तिक १४ गते हुने तय गरिएको छ। प्रतियोगितामार्फत नेपाली महिलाको प्रतिभा, व्यक्तित्व, नेतृत्व क्षमता र सामाजिक योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ।
रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त भट्टले ‘मिसेस नेपाल वर्ल्ड’ केवल सौन्दर्य प्रतियोगिता नभई महिला सशक्तीकरण, नेतृत्व विकास र आत्मविश्वास अभिवृद्धिको अभियानसमेत भएको बताए। उनका अनुसार अडिसनबाट छनोट भएका प्रतियोगीलाई करिब ४५ दिनसम्म व्यक्तित्व विकास, सञ्चारकला, नेतृत्व क्षमता, सार्वजनिक प्रस्तुति, फिटनेस, र्याम्प वाक तथा सामाजिक उत्तरदायित्वलगायत विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकबाट विशेष प्रशिक्षण दिइनेछ।
यस प्रतियोगितामा न्यूनतम एसईई, एसएलसी वा सोसरह उत्तीर्ण गरेका विवाहित तथा एकल महिलाले समेत सहभागिता जनाउन सक्नेछन्। इच्छुक महिलाले रिवन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत वा आवेदन फाराम भरेर प्रतियोगितामा सहभागी हुन सक्ने आयोजकले जनाएको छ।
यस वर्षको प्रतियोगिताबाट ‘मिसेस नेपाल वर्ल्ड २०२६’, ‘मिसेस नेपाल इन्टरनेसनल २०२६’, ‘एमएस इन्टरनेसनल २०२६’ तथा पहिलोपटक ‘मिसेस नेपाल कोसमो २०२६’ समेत चयन गरिनेछ। ‘मिसेस नेपाल वर्ल्ड २०२६’ की विजेताले आगामी वर्ष संयुक्त राज्य अमेरिकामा आयोजना हुने ‘मिसेस वर्ल्ड’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्।
त्यस्तै, ‘मिसेस नेपाल कोसमो २०२६’ की विजेताले म्यानमारमा आयोजना हुने ‘मिसेस कोस्मो’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्। आयोजकले विगतका संस्करणमा नेपाली प्रतियोगीहरूले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै यसपटक पनि नेपाली महिलाको क्षमता, नेतृत्व र नेपाली संस्कृति विश्वमञ्चमा प्रभावकारी रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गरेको छ।

