‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला, नयाँ आइकनको खोजी सुरु

काठमाडौं । नेपाली महिलाहरूको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’ का लागि आवेदन खुला गरिएको छ। ग्लोबल ग्ल्यामर भेन्चरले शुक्रबार काठमाडौंस्थित सोल्टी होटलमा कार्यक्रम आयोजना गर्दै यस वर्षको प्रतियोगिताको अडिसन प्रक्रिया औपचारिक रूपमा सुरु भएको घोषणा गरेको हो।

‘Perfect As You Are’ अर्थात् ‘तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ’ भन्ने नारासहित आयोजना हुने प्रतियोगिताको मुख्य उद्देश्य नेपाललाई विश्वमञ्चमा प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी र नेतृत्वदायी महिलाको खोजी गर्नु रहेको आयोजकले जनाएको छ।

मिस युनिभर्स नेपालकी नेसनल डिरेक्टर सङ्गीता पुरीले यस वर्ष प्रतियोगितालाई थप भव्य र व्यवस्थित रूपमा आयोजना गर्न तयारी अघि बढाइएको बताइन्। आयोजकका अनुसार प्रतियोगिताको ग्रान्ड फिनाले आगामी सेप्टेम्बर ६ मा सोल्टी होटलमै आयोजना हुनेछ।

यस वर्षको प्रतियोगितामा अविवाहित र विवाहित दुवै महिलाले सहभागिता जनाउन पाउनेछन् भने नेपाल बाहिर रहेका गैरआवासीय नेपाली महिलाले समेत प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन्। व्यक्तिगत पहिचान, सामाजिक वकालत, नेतृत्व क्षमता तथा प्रतिभालाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ।

प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गर्नेछन्। मिस युनिभर्स नेपाल २०२५ की विजेता सान्या अधिकारीको ऐतिहासिक कार्यकालपछि सुरु भएको नयाँ संस्करणले नेपाल तथा विदेशमा रहेका इच्छुक र महत्वाकांक्षी नेपाली महिलालाई आवेदन दिन आह्वान गरेको छ।

प्रतियोगिताका लागि आवेदन प्रक्रिया आधिकारिक रूपमा खुलिसकेको छ। इच्छुक तथा योग्य सहभागीले मिस युनिभर्स नेपालको आधिकारिक प्लेटफर्म वा मोबाइल एपमार्फत आवेदन दर्ता गर्न सक्ने आयोजकले जनाएको छ। प्रतियोगिताको मुख्य प्रायोजकमा विद्युतीय सवारीसाधन ब्रान्ड दिपल तथा सह–प्रायोजकमा एक्स–एज र अमृत शुद्ध सूर्यमुखी तेल रहेका छन्।

प्रतिक्रिया