सवारी दुर्घटना न्यूनीकरणका लागि सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतद्वारा ट्राफिक प्रहरीलाई ब्रेथलाईजर हस्तान्तरण

सोलुखुम्बु, असार २२ — सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित सडक यात्रालाई प्रवर्द्धन गर्ने उद्देश्यले सोताङ गाउँपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुलाई मादक पदार्थ सेवन परीक्षण गर्ने अत्याधुनिक ब्रेथलाईजर मेसिन उपलब्ध गराएको छ। गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले रु. १ लाख ५८ हजार मूल्य बराबरको उक्त उपकरण जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गर्नुभएको हो।

हस्तान्तरण कार्यक्रममा अध्यक्ष बस्नेतले सडक सुरक्षा सबै नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले दुर्घटना न्यूनीकरणका लागि आवश्यक उपकरण उपलब्ध गराउनु गाउँपालिकाको दायित्व रहेको बताउनुभयो। उहाँले मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति दुर्घटनाको प्रमुख कारणमध्ये एक भएकाले ब्रेथलाईजरको प्रयोगबाट त्यस्ता गतिविधि नियन्त्रण गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले गाउँपालिकाको सहयोगप्रति आभार व्यक्त गर्दै आधुनिक प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत प्रहरी सहायक हवल्दार चन्द्रबहादुर बस्नेतले सवारी चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै दुर्घटनाबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय नै जिम्मेवार सवारी सञ्चालन भएको बताउनुभयो। उहाँले ट्राफिक प्रहरीको उपस्थितिलाई छल्ने प्रयास गर्नुको सट्टा नियम पालना गर्नुपर्नेमा जोड दिँदै मादक पदार्थ सेवन गरी सवारी नचलाउन, बिना लाइसेन्स सवारी नचलाउन तथा गति नियन्त्रणमा विशेष ध्यान दिन सबै चालकलाई अनुरोध गर्नुभयो।

सोताङ गाउँपालिकाले उपलब्ध गराएको ब्रेथलाईजर मेसिनले आगामी दिनमा जिल्लाभर ट्राफिक अनुगमनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। स्थानीय तहको यस्तो सहयोगले सडक सुरक्षाको क्षेत्रमा सकारात्मक सन्देश दिएको भन्दै सरोकारवालाले समेत प्रशंसा गरेका छन्। सम्बन्धित निकायहरूले आधुनिक प्रविधिको प्रयोगसँगै जनचेतनामूलक कार्यक्रमलाई पनि निरन्तरता दिएमा सोलुखुम्बुमा सुरक्षित यातायात प्रणाली निर्माण गर्न महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया