


नुवाकोट । नुवाकोट जिल्लाको ककनी गाउँपालिकामा आयोजित पार्टी प्रवेश तथा संगठन विस्तार कार्यक्रममा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपासहित विभिन्न राजनीतिक दल परित्याग गरी ४० भन्दा बढी नेता तथा कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्।
पार्टीका अनुसार प्रवेश गर्नेहरू आ–आफ्ना दलमा सक्रिय रूपमा क्रियाशील रहँदै आएका सदस्य तथा स्थानीय राजनीतिक नेतृत्वमा प्रभावशाली भूमिका निर्वाह गरेका व्यक्तिहरू हुन्। उनीहरूले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस गर्दै उज्यालो नेपाल पार्टी रोजेको बताएका छन्।

कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ स्वयं उपस्थित भई नवप्रवेशीहरूलाई खादा तथा माला लगाएर पार्टीमा स्वागत गरेका थिए। अध्यक्ष घिसिङले देशमा सुशासन, विकास र जनउत्तरदायी राजनीतिक संस्कृतिको स्थापना गर्न उज्यालो नेपाल पार्टी प्रतिबद्ध रहेको बताउँदै नवप्रवेशीहरूको आगमनले पार्टीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।
उनले पुराना राजनीतिक दलप्रति जनताको बढ्दो निराशाका कारण वैकल्पिक राजनीतिक अभियानप्रति आकर्षण बढिरहेको उल्लेख गर्दै जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा पार्टीका केन्द्रीय तथा स्थानीय नेताहरूको समेत उपस्थिति रहेको थियो। सहभागीहरूले उज्यालो नेपाल पार्टीलाई आगामी दिनमा जनताको विश्वास जित्ने राजनीतिक शक्तिका रूपमा स्थापित गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए।

ककनीमा आयोजित उक्त कार्यक्रमलाई स्थानीय स्तरमा उज्यालो नेपाल पार्टीको संगठन विस्तार र जनाधार वृद्धि गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

