नेचासल्यानमा स्थानीय उद्योगी–व्यवसायीलाई वित्तीय साक्षरता अभिमुखीकरण, साइबर अपराधदेखि डिजिटल बैंकिङसम्मको जानकारी

नेचासल्यान, सोलुखुम्बु । वित्तीय पहुँच विस्तार, सुरक्षित डिजिटल कारोबारको प्रवर्द्धन तथा स्थानीय उद्योगी–व्यवसायीहरूको वित्तीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेचासल्यान गाउँपालिकाको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक नेचा–बिहीबारे शाखाको सहकार्यमा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

मंगलबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू, कर्मचारी, उद्योगी–व्यवसायी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बैंकका सेवा–सुविधा, कर्जा, डिजिटल बैंकिङ, बीमा तथा साइबर अपराधबाट बच्ने उपायबारे जानकारी प्रदान गरिएको थियो।

राष्ट्रिय वाणिज्य बैंक नेचा–बिहीबारे शाखाका प्रबन्धक ईश्वर उप्रेतीले लोकप्रिय मिडियासँग कुरा गर्दै वित्तीय साक्षरता अभिवृद्धि, सुरक्षित डिजिटल कारोबारको प्रवर्द्धन तथा साइबर अपराधप्रति नागरिकलाई सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रममा डिजिटल बैंकिङ, कर्जा, बीमा तथा बैंकका विभिन्न सेवाबारे सहभागीहरूलाई विस्तृत जानकारी गराइएको थियो।

त्यसैगरी शाखाका सहायक प्रबन्धक पर्शुराम माझीले डिजिटल बैंकिङसँग सम्बन्धित विभिन्न भिडियो प्रस्तुति प्रदर्शन गर्दै मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, अनलाइन कारोबार तथा डिजिटल सेवाको सुरक्षित प्रयोगबारे सहभागीहरूलाई जानकारी गराउनुभएको थियो। उहाँले पछिल्लो समय बढ्दै गइरहेको साइबर अपराधबाट बच्न बैंकिङ कारोबार गर्दा आवश्यक सावधानी अपनाउन समेत आग्रह गर्नुभयो।

कार्यक्रममा उद्योग वाणिज्य संघ नेचासल्यानका अध्यक्ष हेम भट्टराईको समेत उपस्थिति रहेको थियो। संघको आग्रहमा प्रदीप भट्टराईले कर प्रणाली, व्यवसाय सञ्चालनसँग सम्बन्धित कानुनी व्यवस्था तथा व्यवसायीहरूले ध्यान दिनुपर्ने विभिन्न पक्षबारे जानकारी दिनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष धन्जन राईले पछिल्लो समय अनलाइन माध्यममा विभिन्न प्रकारका जोखिम बढ्दै गएकाले यस्ता वित्तीय साक्षरता तथा साइबर सचेतनामूलक कार्यक्रम अत्यन्त आवश्यक र प्रभावकारी भएको बताउनुभयो। उहाँले वित्तीय ज्ञान र डिजिटल सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले वित्तीय साक्षरता, डिजिटल बैंकिङ, कर प्रणाली तथा साइबर सुरक्षासम्बन्धी विषयमा विशेष चासो देखाएका थिए। विभिन्न जिज्ञासा राख्दै सहभागीहरूले कार्यक्रमलाई उपयोगी, ज्ञानवर्द्धक र समयसापेक्ष भएको प्रतिक्रिया दिएका थिए। स्थानीय तह, बैंकिङ संस्था र निजी क्षेत्रबीचको सहकार्यमा सम्पन्न उक्त कार्यक्रमले वित्तीय चेतना अभिवृद्धि गर्नुका साथै डिजिटल युगका चुनौतीप्रति नागरिकलाई सचेत बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया