खेल मैदानदेखि हिमालको चुचुरोसम्म : सोलुखुम्बुका राजदिप तामाङले गरे दोस्रो पटक सगरमाथा आरोहण

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाका युवा पर्वतारोही तथा उत्कृष्ट भलिबल खेलाडी राजदिप तामाङले विश्वको सर्वोच्च शिखर सगरमाथा दोस्रो पटक सफलतापूर्वक आरोहण गरेका छन्।

तामाङले २०२६ मे २७ तारिख बिहान ५:३१ बजे सगरमाथाको चुचुरोमा पुगेर आफ्नो पर्वतारोहण यात्रामा अर्को ऐतिहासिक सफलता हासिल गरेका हुन्। यसअघि पनि सगरमाथा एकपटक र मनास्लु हिमाल एकपटक सफलतापूर्वक आरोहण गरिसकेका उनले दोस्रो पटक सगरमाथाको शिखर चुम्न सफल भएका हुन्।

पर्वतारोहण क्षेत्रमा मात्र नभई राजदिप तामाङ सोलुखुम्बु जिल्लाकै एक प्रतिभाशाली तथा चर्चित भलिबल खेलाडीका रूपमा समेत परिचित छन्। खेलकुद र पर्वतारोहण दुवै क्षेत्रमा उनले देखाएको समर्पण, अनुशासन र मेहनत युवापुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ।

सगरमाथाको शिखरमा पुगेपछि उनले आफ्नो परिवारको तस्वीर प्रदर्शन गर्दै सफलता परिवार, साथीभाइ, शुभेच्छुक तथा सम्पूर्ण नेपालीहरूप्रति समर्पित गरेका थिए।

राजदिप तामाङको यो उपलब्धिले सोलुखुम्बु जिल्लासहित समग्र नेपाललाई गौरवान्वित बनाएको छ। स्थानीयवासी, खेलप्रेमी तथा पर्वतारोहण समुदायले उनको सफलताको खुलेर प्रशंसा गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

“सोलुखुम्बुको माटोबाट उठेर विश्वको सर्वोच्च शिखरमा दोस्रो पटक पुग्नु मेरो लागि गर्वको क्षण हो,” भन्ने भावना उनले व्यक्त गरेका छन्।

उनको यो सफलता खेलकुद र साहसिक पर्यटन क्षेत्रमा लाग्न चाहने युवाहरूका लागि प्रेरणादायी उदाहरण बनेको छ।

प्रतिक्रिया