


काठमाडौं, जेठ ७ — राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार–२०८३ बाट रेडियो नेपालकर्मी मिलन ढुङ्गाना सम्मानित हुनुभएको छ। चलचित्र पत्रकार संघ नेपालले आफ्नो २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा उहाँलाई नगद २५ हजार रुपैयाँसहित उक्त पुरस्कार प्रदान गरेको हो।
एक दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय ढुङ्गाना हाल रेडियो नेपाल र एमएनएम मिडियासँग आबद्ध हुनुहुन्छ। ‘क्यानडा नेपाल’बाट सञ्चार क्षेत्रमा आफ्नो परिचय स्थापित गर्नुभएका उहाँ चलचित्र पत्रकार संघ नेपालको निर्वाचित कार्यसमितिमा रहेर चलचित्र क्षेत्रलाई जिम्मेवार र व्यवस्थित बनाउन तथा पत्रकारहरूको हकहितका लागि सक्रिय रहँदै आउनुभएको छ।
त्यसैगरी, कार्यक्रममा अनन्त वाग्लेलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान–२०८३, जयन सुब्बा मानन्धर र कुबेर गिरीलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८३ तथा सुरक्षा भट्टराईलाई स्व. दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८३ प्रदान गरिएको थियो।
चलचित्र पत्रकार संघ नेपालले पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने सञ्चारकर्मीलाई सम्मान गर्दै चलचित्र पत्रकारिताको विकास र सशक्तीकरणमा निरन्तर भूमिका खेल्दै आएको जनाएको छ।

