पत्रकारितामा एआईको प्रवेश, सोलुखुम्बुमा तीन दिने तालिम सुरु

सोलुखुम्बु, जेठ ४ । पत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले सोलुखुम्बुमा तीन दिने एआई पत्रकारिता तालिम सुरु गरिएको छ। नेपाल पत्रकार महासंघ सोलुखुम्बु शाखाको आयोजना तथा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सदरमुकाम सल्लेरीस्थित द हिमालयन याकमा तालिम सञ्चालन गरिएको हो।

हिमाली जिल्लामा पहिलो पटक आयोजना गरिएको उक्त तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत २५ जना सक्रिय पत्रकारहरू सहभागी छन्। तालिम उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी लिला देवी पाण्डे केसीले एआई प्रविधिको सही प्रयोगले समाचार सम्प्रेषणलाई छिटो, प्रभावकारी र तथ्यपरक बनाउन सहयोग पुग्ने बताउनुभयो।

नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष सुबास दर्नालले प्रविधिमैत्री पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गर्दै एआईको दुरुपयोगभन्दा सदुपयोगमा ध्यान दिनुपर्ने बताउनुभयो।

एआई विज्ञ अजय शर्माले सहजीकरण गरिरहेको तालिममा एआईको प्रयोग, डिजिटल पत्रकारिता, समाचार सम्पादन, तथ्य परीक्षण तथा आधुनिक सञ्चार प्रविधिसम्बन्धी विषयमा प्रशिक्षण दिइनेछ।

आयोजकका अनुसार सगरमाथाको फेदबाट सुरु भएको यो प्रविधिमैत्री अभ्यासले स्थानीय पत्रकारितालाई थप सशक्त र समयानुकूल बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया