सोलुखुम्बुकी छोरी सुरक्षा देवी १३ वर्षमै रामायण कथा वाचन

सोलुखुम्बु — धार्मिक तथा सांस्कृतिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले २०८२ साल चैत ५ गतेदेखि १३ गतेसम्म सञ्चालन भइरहेको पवित्र श्री रामायण कथा महोत्सवमा एक सानो उमेरकी प्रतिभाशाली छोरीले सबैको ध्यान खिचेकी छन्। सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नं। २ की १३ वर्षीया सुरक्षा देवी अहिले आफ्नो अद्भुत कथा वाचन क्षमताका कारण चर्चामा छिन्।

ॐ शिव शक्ति कल्याणी केन्द्र को विशेष समन्वय तथा स्थानीय भक्तजनहरूको सक्रियतामा आयोजना हुन लागेको यस महोत्सव तारकेश्वर नगरपालिका–५, बोहोराटार मा सम्पन्न हुँदैछ।

यस दिव्य महोत्सवमा वैदिक सनातन धर्मकी प्रतिमूर्ति मानिने शिव शक्ति माताश्री कल्याणकी पावन सान्निध्य रहनेछ भने विद्वान् दर्शनाचार्य पण्डित नारायण देवकोटा तथा माँ कल्याणी वैदिक कन्या गुरुकुलका विदुषी कन्याहरूको मुखारविन्दबाट संगीतमय श्री रामायण कथा प्रवचन भइरहेको छ ।

यही गुरुकुलकी एक होनहार छात्रा सुरक्षा देवी पनि कथा वाचनमार्फत महोत्सवमा सहभागी छिन्। बि।पि। संस्कृत माध्यमिक विद्यालय मा कक्षा ८ सम्म अध्ययन पूरा गरेकी उनी हाल माँ कल्याणी वैदिक कन्या गुरुकुल मा अध्ययनरत छिन्। सानै उमेरदेखि संस्कृत शिक्षा, धार्मिक संस्कार र आध्यात्मिक अभ्यासमा समर्पित सुरक्षा अहिले आफ्नो स्पष्ट उच्चारण, मधुर स्वर र गहिरो भावनात्मक प्रस्तुतीका कारण छुट्टै पहिचान बनाउँदैछिन्।

उनका बुबा सुरज र आमा पार्वती हुन्। साधारण पारिवारिक पृष्ठभूमिबाट आएकी सुरक्षा देवीले आफ्नो लगन, मेहनत र अनुशासनका बलमा यस्तो स्तरको प्रतिभा प्रदर्शन गर्न सफल भएकी छन्। परिवारको प्रेरणा र गुरुकुलको शिक्षा उनको सफलताको मुख्य आधार बनेको देखिन्छ।

महोत्सवको मञ्चमा सुरक्षा देवीले गरेको कथा वाचन केवल धार्मिक कार्यक्रमको एउटा अंश मात्र नभई सोलुखुम्बु जिल्लाको गौरव र सम्भावनाको प्रतिविम्ब पनि हो। सानो उमेरमै रामायण जस्तो महान ग्रन्थको कथा भावपूर्ण ढंगले प्रस्तुत गर्न सक्ने क्षमता आफैँमा असाधारण हो। उनको प्रस्तुतिले दर्शक तथा भक्तजनहरूलाई आध्यात्मिक अनुभूति दिलाएको छ।

यस किसिमका कार्यक्रमहरूले धर्म, संस्कार र संस्कृतिको संरक्षण मात्र होइन, नयाँ पुस्तालाई सही मार्गमा प्रेरित गर्ने काम पनि गर्छन्। सुरक्षा देवी जस्ता प्रतिभाशाली बालिकाहरूले सोलुखुम्बुको नाम देशभर मात्र होइन, अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने सम्भावना बोकेका छन्।

सुरक्षा देवीको यो यात्रा केवल व्यक्तिगत उपलब्धि नभई सिंगो सोलुखुम्बुको पहिचानसँग जोडिएको प्रेरणादायी कथा हो। यस्ता प्रतिभाले नै भोलिको समाजलाई दिशा दिने र हाम्रो सांस्कृतिक सम्पदालाई जीवित राख्ने विश्वास गर्न सकिन्छ।

प्रतिक्रिया