


ओखलढुङ्गा- ठोट्ने खोलामा बेलिब्रिज जडान भएपछि ओखलढुंगा, सोलुखुम्बु र खोटाङका बासिन्दाको वर्षौंदेखिको आवागमन समस्या समाधान भएको छ। ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ र चिशंखुगढी गाउँपालिका–७ को सिमानामा पर्ने स्थानमा नेपाली सेनाले २१.३४ मिटर लामो र ३.०८ मिटर चौडा, ४० टन क्षमताको बेलिब्रिज पाँच दिनमै जडान गरेर आइतबार हस्तान्तरण गरेको हो।

पुल सञ्चालनमा आएपछि स्वर्ण सगरमाथा बृहत् चक्रपथ अन्तर्गतका तीन जिल्लाबीचको यात्रा अब छिटो, सुरक्षित र सहज बनेको छ। यसअघि विशेषगरी वर्षायाममा खोलामा पानी बढ्दा सवारी रोकिने र यात्रुले जोखिम मोलेर पैदल हिँड्नुपर्ने अवस्था थियो। अहिले भने सवारी साधन नियमित चल्न थालेपछि समय र जोखिम दुवै घटेको स्थानीय बताउँछन्।
स्थानीय व्यापारी, विद्यार्थी, बिरामी तथा सेवाग्राहीलाई पुलले ठूलो राहत दिएको छ। वडा अध्यक्ष मुगाधन राईले लामो समयदेखिको समस्या समाधान भएको भन्दै नेपाली सेना र सडक डिभिजनलाई धन्यवाद दिएका छन्।
श्री नम्बर १४ बाहिनी अड्डा ब्रिजिङ युनिटका प्रमुख सेनानी नारायण तुम्बाहाम्फेले पुलले तीन जिल्लाका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको बताए। पुल जडानमा दुर्गा बक्स गण ओखलढुंगाले सुरक्षा सहयोग गरेको र सडक डिभिजन हर्कपुरसँग समन्वयमा काम सम्पन्न भएको जनाइएको छ।
बेलिब्रिज सञ्चालनसँगै यस क्षेत्रको सामाजिक तथा आर्थिक गतिविधि अझै गतिशील हुने अपेक्षा गरिएको छ।

