सोलुखुम्बुमा मतदानस्थलको स्थलगत निरीक्षण सुरु, सुरक्षा व्यवस्था कडा

सोलुखुम्बु – जिल्ला सुरक्षा समिति सोलुखुम्बुको टोलीले जिल्लाका विभिन्न मतदानस्थलको स्थलगत निरीक्षण सुरु गरेको छ। प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी. पाण्डेको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले सोलुदुधकुण्ड नगरपालिका–१, माप्यदुधकोशी गाउँपालिका–१ तथा खुम्बु पासाङ ल्हमु गाउँपालिका–१ का मतदानस्थलको निरीक्षण गरेका हुन्।

स्थलगत निरीक्षणका क्रममा मतदानस्थलहरूको अवस्था सामान्य रहेको पाइएको छ भने सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूसँग छलफल गरी आवश्यक तयारी र सुरक्षाका विषयमा समन्वय गरिएको छ। जिल्ला सुरक्षा समितिको टोलीले क्रमशः जिल्लाका सबै मतदानस्थलको निरीक्षण गर्ने योजना रहेको जानकारी प्रमुख जिल्ला अधिकारी पाण्डेले दिनुभयो।

सुरक्षाका दृष्टिकोणले जिल्लाका १२४ मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरिएको छ। प्रहरीका अनुसार १० मतदानस्थल अतिसंवेदनशील, ४१ संवेदनशील र ७३ मतदानस्थल सामान्य सूचीमा राखिएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायव उपरीक्षक मनोजित कुँवरका अनुसार एकीकृत सुरक्षा योजना बनाएर निर्वाचन सुरक्षाको तयारी गरिएको छ।

मतदानस्थलको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन तीन तहको सुरक्षा घेराको व्यवस्था गरिएको छ। जसअन्तर्गत भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल तथा तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिने व्यवस्था गरिएको छ। जिल्लामा शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गराउने लक्ष्यका साथ सुरक्षा निकायहरू पूर्ण तयारीमा जुटेको प्रशासनले जनाएको छ।

प्रतिक्रिया