नेचासल्यानमा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड भव्य रूपमा सम्पन्न, हिमाल दर्शन ले कायम राख्यो दबदबा

नेचासल्यान। नेचासल्यान गाउँपालिकाको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर विद्यालय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ भव्यताका साथ सम्पन्न भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको प्रतियोगिता पौष १५ गतेदेखि सुरु भई पौष १८ गते समापन गरिएको हो।

गाउँपालिकाभित्रका जम्मा ६ ओटा माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको उत्साह, अनुशासन र प्रतिस्पर्धात्मक भावना थप मजबुत बनाएको छ।

प्रतियोगितामा हिमालदर्शन माध्यमिक विद्यालयले १९ स्वर्ण, ११ रजत र ४ कास्य पदकसहित जम्मा ३४ पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ। यससँगै हिमालदर्शन मा.वि. ले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लगातार पाँचौँ पटक प्रथम स्थान हासिल गर्दै आफ्नो दबदबा कायम राखेको छ।

त्यसैगरी गणेशथान माध्यमिक विद्यालयले १४ स्वर्ण, १३ रजत र ९ कास्य गरी जम्मा ३६ पदकसहित द्वितीय स्थान हासिल गरेको छ भने केदार माध्यमिक विद्यालय ६ स्वर्ण, ९ रजत र ११ कास्यसहित जम्मा २६ पदक प्राप्त गर्दै तेस्रो स्थानमा रह्यो।

बीपी संस्कृत माध्यमिक विद्यालयले २ स्वर्ण, ३ रजत र २ कास्यसहित जम्मा ७ पदक जित्दै चौथो स्थान हासिल गरेको छ। त्यसैगरी श्री महेन्द्रोदय माध्यमिक विद्यालयले १ स्वर्ण, ४ रजत र ४ कास्य गरी जम्मा ९ पदकसहित पाँचौँ स्थानमा चित्त बुझाएको छ भने भूमेश्वरी माध्यमिक विद्यालयले १ कास्य पदक मात्र प्राप्त गर्दै छैटौँ स्थानमा सीमित भयो।

समापन कार्यक्रममा नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राई, उपाध्यक्ष बिना राईसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष धनजन राईले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक र नैतिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै यस्ता प्रतियोगितालाई आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतियोगिताको सफल आयोजनले नेचासल्यान गाउँपालिकामा विद्यालयस्तरीय खेलकुद विकासमा नयाँ ऊर्जा थपिएको सहभागीहरूको भनाइ छ।

प्रतिक्रिया