


नेचासल्यान, सोलुखुम्बु । नेचासल्यान गाउँपालिका शिक्षा शाखाको आयोजनामा गाउँपालिका स्तरीय अन्तर विद्यालय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सुरु भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित सञ्चालन भइरहेको प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउने, अनुशासन र नेतृत्व क्षमताको विकास गर्ने लक्ष्य लिएको छ। गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागितामा आयोजना गरिएको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, हाईजम्प, लङजम्प लगायतका विभिन्न खेल विधाहरू समावेश गरिएका छन्।
प्रतियोगितामार्फत प्रतिभावान खेलाडी पहिचान गरी आगामी जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगिताका लागि तयार गर्ने उद्देश्य आयोजकको रहेको छ। नेचासल्यान गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको व्यवस्थापनमा सुरु भएको यस प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्याउनुका साथै विद्यालयस्तरमै स्वस्थ्य प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै नेचासल्यान गाउँपालिका अध्यक्ष धन्जन राईले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँका अनुसार खेलकुद अनुशासन, सहकार्य र नेतृत्व विकासको सशक्त माध्यम हो र गाउँपालिकाले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै निरन्तर लगानी गर्दै आएको छ।
यस्तै, गाउँपालिका उपाध्यक्ष विना राईले विद्यार्थी जीवनमै खेलकुद संस्कृतिको विकास आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रपति रनिङ शिल्डजस्ता प्रतियोगिताले गाउँस्तरमै लुकेका प्रतिभा पहिचान गर्न सहयोग पुग्ने र स्वस्थ्य प्रतिस्पर्धामार्फत विद्यार्थीलाई सकारात्मक दिशातर्फ प्रेरित गर्नु आजको आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख माधव मणि ढुङ्गानाले प्रतियोगिताको उद्देश्यबारे जानकारी गराउँदै यस प्रतियोगितामार्फत उत्कृष्ट खेलाडी छनोट गरी उनीहरूलाई जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगिताका लागि तयारी गराइने तथा विद्यालयस्तरमै प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्नु मुख्य लक्ष्य रहेको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा स्थानीय खेलप्रेमीहरूको उल्लेख्य उपस्थितिमा सञ्चालन भइरहेको प्रतियोगिताको समापनसँगै उत्कृष्ट विद्यालय तथा खेलाडीहरूलाई रनिङ शिल्ड, मेडल तथा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

