अनुसन्धान संस्कृतिको प्रवर्द्धनका लागि बीपी संस्कृत विद्यापीठमा एकदिने कार्यशाला सम्पन्नअनुसन्धानात्मक कार्यशाला गोष्ठी सम्पन्न

सल्यान- विश्वेश्वरप्रसाद कोइराला संस्कृत विद्यापीठको अनुसन्धान व्यवस्थापन एकाइको पहलमा एकदिने अनुसन्धानमूलक कार्यशाला गोष्ठी सम्पन्न भएको छ। विद्यापीठका निमित्त प्राचार्य पशुपतिकुमार ढुङ्गानाको अध्यक्षतामा विद्यापीठको सभाहलमा आयोजित उक्त कार्यशालामा विभिन्न शैक्षिक संस्थाका शिक्षक तथा शिक्षार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यशालामा पिण्डेश्वर विद्यापीठ, धरानका उपप्राध्यापक डिल्लीप्रसाद निरौलाले अनुसन्धान लेखन, अनुसन्धान पद्धति तथा शैक्षिक अनुसन्धानका व्यवहारिक पक्षबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो। उहाँले अनुसन्धानलाई शैक्षिक गुणस्तर अभिवृद्धिको आधार मानेर शिक्षण–सिकाइ प्रक्रियामा यसको प्रभावकारी प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको प्रारम्भमा अनुसन्धान व्यवस्थापन एकाइका संयोजक जगतमणि सोतीले कार्यशालाको उद्देश्यबारे जानकारी गराउँदै शैक्षिक संस्थामा अनुसन्धान संस्कृतिको विकास गर्नु तथा शिक्षक–शिक्षार्थीलाई अनुसन्धानतर्फ अभिप्रेरित गर्नु नै कार्यक्रमको मुख्य लक्ष्य रहेको स्पष्ट पार्नुभयो।

कार्यशालामा हिमाल दर्शन क्याम्पस, हिमाल दर्शन माध्यमिक विद्यालय, केदार माध्यमिक विद्यालय, महेन्द्रोदय माध्यमिक विद्यालय तथा वी.पी. संस्कृत माध्यमिक विद्यालयका गरी पाँचवटा शैक्षिक संस्थाबाट १५ जना सहभागीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले अनुसन्धानसम्बन्धी सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अनुभवसमेत हासिल गरेको प्रतिक्रिया दिएका छन्।

कार्यक्रमको समापन सत्रमा विद्यापीठका निमित्त प्राचार्य पशुपतिकुमार ढुङ्गाना, प्रमुख प्रशिक्षक डिल्लीप्रसाद निरौला तथा प्रशासन प्रमुख लोकेन्द्रबहादुर राउतले सहभागी प्रशिक्षार्थीहरूलाई संयुक्त रूपमा प्रमाणपत्र वितरण गर्नुभएको थियो।

कार्यशालामा सहभागी प्रशिक्षार्थीहरूले कार्यक्रम अत्यन्तै उपयोगी तथा फलदायी रहेको उल्लेख गर्दै यस्ता अनुसन्धानमूलक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्। कार्यक्रममा विद्यापीठका उपप्राध्यापकहरूले अनुसन्धानको प्रभावकारिता र शैक्षिक विकासमा यसको भूमिकाबारे समेत विचार व्यक्त गरेका थिए।

कार्यशालाको सफलतापछि विद्यापीठले आगामी दिनमा पनि अनुसन्धानमूलक तथा शैक्षिक विकास केन्द्रित कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया