जलदेवी साना किसान कृषि सहकारीको प्रारम्भिक साधारण सभा सम्पन्न, आगामी वर्षका नीति तथा कार्यक्रम सार्वजनिक

नेचासल्यान–२, । जलदेवी साना किसान कृषि सहकारी संस्था लिमिटेड, नेचासल्यान गाउँपालिका वडा नं. २ र १ को कार्यक्षेत्र समेटेर सञ्चालन हुँदै आएको संस्थाको प्रारम्भिक साधारण सभा मंसिर २७ गते महेन्द्राेदय मा.वि. को सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।

सभामा संस्थाले २०८२ मंसिर मसान्तसम्मको सन्तुलन परीक्षण हिसाब प्रस्तुत गरेको थियो। प्रस्तुत विवरणअनुसार संस्थाको कुल दायित्व तथा पूँजी र सम्पत्ति तथा खर्च दुवै तर्फको जम्मा रकम २७ लाख ७५ हजार ८२७ रुपैयाँ रहेको छ। दायित्व तथा पूँजीतर्फ शेयर रकम ५ लाख ६१ हजार ५००, बचत २१ लाख २४ हजार ६२७, जगेडा तथा अन्य कोष ४ हजार २००, कर्जा नोक्सानी व्यवस्था १ हजार ५०० र अनुदान ४८ हजार ५९८ रुपैयाँ रहेको जानकारी गराइएको थियो। त्यस्तै सम्पत्तितर्फ नगद तथा बैंक मौज्दात ५६ हजार २६२, ऋण लगानी २६ लाख ६४ हजार ५३०, स्थिर सम्पत्ति ३७ हजार, खर्च १८ हजार ३५ र आम्दानी ३५ हजार ४०५ रुपैयाँ देखाइएको छ।

कार्यक्रमका सभापति तथा सहकारी संस्थाकी अध्यक्ष सविना कार्कीले संस्थाको वार्षिक आय–व्यय विवरण प्रस्तुत गर्दै सहकारीले छोटो अवधिमै उल्लेखनीय प्रगति गरेको बताउनुभयो। उहाँले पारदर्शिता, सदस्य सहभागिता र कृषिमा आधारित कार्यक्रमलाई प्राथमिकतामा राख्दै आगामी दिनमा सहकारीलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रमअन्तर्गत सहकारी भावना, समूह दायित्व, साझा सोच र सदस्यहरूको अधिकार–कर्तव्यप्रति सचेतना अभिवृद्धि गर्न सहकारी शिक्षा तालिम सञ्चालन गरिने बताइएको छ। साथै कृषक सदस्यहरूलाई कृषि कार्यमा सहयोग पुर्‍याउन साना किसान विकास बैंकमार्फत सस्तो र सुलभ पशुपालन तथा दुग्धजन्य कर्जा वितरण गरिने, किसानबाट उत्पादित वस्तुहरूको संकलन तथा बजारीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गरिने र उत्कृष्ट कृषि कर्म गर्ने सदस्यहरूलाई प्रोत्साहनसहित पुरस्कार प्रदान गरिने योजना सार्वजनिक गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले सहकारीमार्फत कृषकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलिरहेको जलदेवी साना किसान कृषि सहकारीको प्रशंसा गर्दै स्थानीय सरकारले सहकारीसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।

त्यसैगरी विशिष्ट अतिथि नेपाल कृषि सहकारी केन्द्रीय संघका प्रतिनिधि तथा अनुसरण अधिकृत सुमन बोहोरा ले सहकारीको वित्तीय अनुशासन, सदस्य केन्द्रित कार्यक्रम र उत्पादनमूलक लगानीलाई अझ प्रभावकारी बनाउन सुझाव दिनुभयो। उहाँले साना किसान सहकारीहरूले ग्रामीण अर्थतन्त्र मजबुत बनाउने आधार तयार गरिरहेको उल्लेख गर्नुभयो।

साधारण सभामा शेयर सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने कार्यक्रमले आगामी दिनमा सहकारीलाई अझ व्यवस्थित र परिणाममुखी बनाउने दिशामा महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया