गणेशथान माध्यमिक विद्यालयद्वारा आयोजित भलिबल प्रतियोगिता नमुना कार्यक्रमका रूपमा स्थापित

नेचासल्यान, सोलुखुम्बु । नेचासल्यान गाउँपालिका–५ स्थित गणेशथान माध्यमिक विद्यालयले आयोजना गरेको अन्तर–माध्यमिक विद्यालय स्तरीय मैत्रीपूर्ण छात्र–छात्रा भलिबल प्रतियोगिता तथा प्रशिक्षण समापन कार्यक्रम भव्य र प्रभावकारी रूपमा सम्पन्न भएको छ। मंसिर २२ गतेदेखि सुरु भई निर्धारित समयमै सम्पन्न गरिएको यस कार्यक्रमले विद्यालय, विद्यार्थी तथा समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै खेलकुदप्रतिको रुचि र महत्वलाई झनै उजागर गरेको छ।

DCIM100MEDIADJI_0681.JPG

प्रतियोगितामा छात्रतर्फ ६ टिम र छात्रातर्फ ६ टिमको उत्साहजनक सहभागिताले कार्यक्रमको आकर्षणलाई अझ बढाएको थियो। प्रतिस्पर्धात्मक तर मैत्रीपूर्ण वातावरणमा सम्पन्न खेल अन्तर्गत छात्रतर्फ महेन्द्रोदय माध्यमिक विद्यालयले शानदार जितसहित प्रथम स्थान हासिल गर्न सफल भयो। बीपी संस्कृति माध्यमिक विद्यालयले दोस्रो र भूमेश्वरी माध्यमिक विद्यालयले तेस्रो स्थानमा हासिल गर्न सफल भयो । महिलातर्फ हिमाल दर्शन माध्यमिक विद्यालय प्रथम, बीपी संस्कृतिले दोस्रो र आयोजक गणेशथान माध्यमिक विद्यालय तेस्रो स्थान हासिल गऱ्यो ।

विजयी टोलीहरूलाई क्रमशः रु. ५,०००, रु. ३,००० र रु. २,००० सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। साथै अन्य विधागत ट्रफीको पनि व्यवस्था गरिएको थियो। पुरस्कार राशि ठूलो नभए पनि विद्यालय तथा गैरी समुदायले खेलाडीहरूको खान, बस्न र खाजासहित सम्पूर्ण व्यवस्थापन गरेका कारण कार्यक्रमको स्तर र सम्मान झनै बढेको सहभागीहरूले बताएका छन ।

समापन कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि राजनकुमार राई, नेचासल्यान गाउँपालिकाकी उपाध्यक्ष तथा प्रमुख अतिथि बिना राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन श्रेष्ठ, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वडा अध्यक्ष राईले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै, “म पदमा भए पनि नभए पनि वडा तथा विद्यालयका हितका काममा सधैं सहयोगी बन्ने बताउनु भयो ।

उक्त गणेशथान माध्यमिक विद्यालय का प्रधानाध्यापकले कार्यक्रमले विद्यार्थीको आत्मविश्वास, खेलकुद संस्कार र आपसी सहकार्यमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोशन श्रेष्ठले समुदाय र विद्यालयको एकताबीच सम्पन्न भएको यस कार्यक्रमलाई नमुना कार्यक्रमका रूपमा अगाडि बढाउने योजना रहेको जानकारी दिनुभयो।

व्यवस्थापनदेखि सम्पूर्ण गतिविधिहरू अत्यन्त सरल, पारदर्शी र विवादरहित रूपमा सम्पन्न भएको यो कार्यक्रम नेचासल्यान गाउँपालिकाकै नमुना कार्यक्रमका रूपमा स्थापित भएको सबैको टिप्पणी रहेको छ । गैरी समुदाय र विद्यालयले संयुक्त रूपमा पुँजिएको प्रयासले यो प्रतियोगिता मात्र सफल बनेन, भविष्यका सामुदायिक तथा शैक्षिक कार्यक्रमहरूको लागि प्रेरणादायी आधार पनि तय गरेको छ। गैरी समुदाय र विद्यालयले संयुक्त रूपमा गरेको योगदान सबैका लागि प्रशंसनीय उदाहरणको रूपमा प्रस्तुत भएको छ।

प्रतिक्रिया