


मंसिर २४, सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा पहिलो पटक ऐतिहासिक ‘नेचासल्यान साहित्य सङ्गोष्ठी’ हुने भएको छ। शहीद कुसुम स्मृति प्रतिष्ठान, नेपाल र नेचासल्यान गाउँपालिकाको संयुक्त आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाण्डौको सहकार्यमा आयोजना हुने यस कार्यक्रम बुधबार प्रतिष्ठानको सभाहलमा सम्पन्न हुनेछ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, सदस्य–सचिव डा. धनप्रसाद सुवेदी, प्राज्ञ सभा सदस्य चेतनाथ धमला लगायतका पदाधिकारीहरूको विशेष उपस्थिति रहनेछ।

एकदिवसीय सङ्गोष्ठीमा नेचासल्यान गाउँपालिकाबाट साहित्यका क्षेत्रमा सक्रिय दुई दर्जनभन्दा बढी स्रष्टाहरूलाई सम्मान गरिनेछ। ‘विद्यार्थीसँग कुलपति सेसन’ अन्तर्गत साहित्यिक यात्राका अनुभव, मार्गदर्शन र अन्तरक्रिया हुनेछ। साथै नेचासल्यान माध्यमिक विद्यालय स्तरीय खुल्ला कविता/गजल प्रतियोगिता, कला–साहित्य सम्बन्धी कार्यपत्र प्रस्तुति, प्राज्ञद्धारा टिप्पणी, र स्थानीय सर्जकहरूको रचना वाचन जस्ता कार्यक्रमहरू सञ्चालन हुने कुसुम प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र आर.सी.ले जानकारी दिएका छन्।
शहीद कुसुम स्मृति प्रतिष्ठानले ‘नेपालको सन्दर्भमा समाजवाद’ विषयक राष्ट्रिय गोष्ठी तथा मार्क्सीय गुरुकुल, नेपाल खुला विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयसँग सहकार्य गरेर ‘मार्क्सवाद र एशियाली दर्शन’ विषयक तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन भव्यरूपमा सम्पन्न गरिसकेको छ। यसले संस्थाको सांस्कृतिक तथा बौद्धिक गतिविधिप्रतिको निरन्तर प्रतिबद्धता प्रकट गर्छ।
साहित्य, कला र संस्कृतिको प्रवर्द्धनमा गाउँपालिका सदैव सहयोगी रहेको उल्लेख गर्दै नेचासल्यान गाउँपालिकाका प्रतिनिधि राईले नेपाल प्रज्ञा प्रतिष्ठानसहितको सहकार्यमा कार्यक्रम हुन लागेकामा खुशी र गौरव दुवै व्यक्त गरेका छन । उनले स्थानीय स्रष्टा र विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर गरिने बताएका छन।


