


सोलुखुम्बु, मंसिर १९। किरातीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व उधौली–धान्य पूर्णिमाको अवसरमा श्री प्रकृति मारुनी युवा क्लब, नेचासल्यान–२ देउपुजे खाल्पाले आयोजना गरेको खुला साविक वडास्तरीय पुरुष तथा मा.वि. स्तरीय महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

मंसिर १७ देखि १९ सम्म सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ सृजनशील बाल युवा क्लब चौताराले उपाधि हात पारेको हाे। सल्यान–३ उपविजेता र सल्ले खोटाङ दोस्रो उपविजेता बनेका हुन। महिला तर्फ हिमाल दर्शन माध्यमिक विद्यालय प्रथम, महेन्द्रदय माध्यमिक विद्यालय द्वितीय र वि.पी संस्कृत माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गर्न सफल भएका हुन।
तीन दिनसम्म चलेको दुवै समूहको प्रतिस्पर्धा उत्साहपूर्ण र स्तरिय रहेको सहभागीहरूले बताए। कार्यक्रमका अध्यक्ष तथा सभापति धनराम राईले खेलकुदमार्फत युवाहरूलाई एकताबद्ध बनाउने उद्देश्य सफल भएको बताए।
खेलमैदानदेखि तालमेल, सुरक्षा, अतिथि स्वागत तथा समय व्यवस्थापनसम्म क्लबले देखाएको पेशेवर शैलीले ग्रामीण भूबनोटमा पनि उत्कृष्ट कार्यक्रम आयोजना गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राई, विशिष्ट अतिथि उपाध्यक्ष बिना राई तथा स्थानीय सरोकारवालाहरूको सशक्त उपस्थिति रहेको थियो। उक्त कार्यक्रमकाे संयोजन सागर राईले गरेका थिए।
विजेताहरूलाई प्रदान गरिएको पुरस्कारमा पुरुषतर्फ रु ३५,०००, २५,०००, १५,००० तथा महिलातर्फ रु १८,०००, १२,०००, ९,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र वितरित गरिएको हाे। उत्कृष्ट खेलाडी महिला विधामा अस्मिता राई र पुरुष विधामा दिपक नेवार घोषित भए। पुरस्कार वितरणमा सरकारी नियमअनुसारको कर कट्टी गरिएको आयोजकले जनाएको छ।

आगामी वर्ष प्रतियोगितालाई अझ व्यवस्थित र ठूलो स्तरमा लैजाने योजनासहित प्रकृति मारुनी युवा क्लबले समुदायमा खेलकुद र संस्कृतिको संरक्षण–प्रवर्धनमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।

