


मंसिर १८, सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा पाँचौं नेचासल्यान गोल्डकप फुटबल प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु भएको छ। वडा नं. ५ को आयोजनामा र गाउँपालिकाको प्रायोजनमा लाउरेचौर खेलमैदानमा सुरु गरिएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष धनजन राईले गर्नुभयो।

यस वर्षको गोल्डकपमा सोलुखुम्बु सहित विभिन्न जिल्लाबाट आएका ११ टिमले प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन कार्यक्रममा नेकपा एमाले सोलुखुम्बुका जिल्ला अध्यक्ष तथा नेचासल्यानका पूर्व अध्यक्ष डुफकुमार बास्तोला, उपाध्यक्ष विना राई, प्रमुख प्रशासकीय अधिकृत टङ्कनाथ घिमिरे, सबै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू, श्रम संस्कृति पार्टीका जिल्ला संयोजक वियस राई साथै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष राईले युवामैत्री विकास र खेल–पूर्वाधार विस्तारलाई गाउँपालिकाको प्रमुख प्राथमिकता रहेको बताउँदै गोल्डकपले स्थानीय युवामा सकारात्मक ऊर्जा भर्ने विश्वास व्यक्त गर्नुभयो।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र, द्वितीयले ९० हजार, र सान्त्वना टिमहरूले ४०–४० हजार प्राप्त गर्नेछन्।
आजको उद्घाटन खेलमा 4 स्टार क्लवले नेचा x लाई ११ गोलको फराकिलो अन्तरले पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको छ।
किरात समुदायको महान पर्व उधौँली को अवसर पारेर आयोजना गरिएको गोल्डकपमा बाहिङ–राई समुदायको परम्परागत भेषभूषा, सेग्रो–सिली लगायतका सांस्कृतिक प्रस्तुतीहरू पनि प्रस्तुत गरिएका छन्।

नेचासल्यान गोल्डकपले स्थानीय खेलकुद, पर्यटन र संस्कृतिको प्रचार–प्रसारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

