नेचासल्यान–१ मा प्रशासनिक भवन उद्घाटन : स्थानीय सेवामा थप सहजता र प्रभावकारीता आउने विश्वास

कार्तिक ६ सोलुखुम्बु — नेचासल्यान गाउँपालिका–१ को प्रशासनिक भवन सनिबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। स्थानीय विकास, सेवा प्रवाह र सुशासनलाई थप सुदृढ बनाउने उद्देश्यले निर्माण गरिएको उक्त भवनको उद्घाटन वडा अध्यक्ष रमेश कुमार राईको सभापतित्वमा तथा जिल्ला समन्वय समिति सोलुखुम्बुको प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

नयाँ प्रशासनिक भवन जिल्ला समन्वय समितिको ६० प्रतिशत तथा नेचासल्यान गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको हो। स्थानीय संरचनालाई व्यवस्थित, आधुनिक र जनमैत्री बनाउने उद्देश्यले निर्माण गरिएको भवन स्थानीय सेवा प्रवाहको केन्द्रबिन्दु बन्ने आशा गरिएको छ। उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, छिमेकी गाउँपालिकाका प्रमुख तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरू उपस्थित रहेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले राज्यका तिनै तहबीच सुदृढ सहकार्य र आपसी साझेदारी भएमात्र नागरिकले वास्तविक विकासको अनुभूति गर्न सक्ने उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो — “वडा कार्यालय निर्माण सम्पन्न भएकाले अब वडा नं. १ का नागरिकले सहज, तीव्र र प्रभावकारी सेवा पाउनेमा हामी विश्वस्त छौँ।”

नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले गाउँपालिकाले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई समान रूपमा अघि बढाइरहेको बताउनुभयो। उहाँका अनुसार “हामी सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा अव्बल बन्न प्रतिबद्ध छौँ। विकासका प्रत्येक काममा जनताको सहमतिलाई प्राथमिकता दिइन्छ।”

थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले स्थानीय सरकारलाई स्रोत–साधनसम्पन्न बनाएर सरकारको वास्तविक परिभाषा जनतासामु प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले नयाँ भवन निर्माणले स्थानीय सेवामा सहजता र विश्वास बढाउने बताउँदै वडा १ का स्थानीयलाई बधाइ दिनुभयो।

नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईले गाउँपालिकाले नागरिकको न्याय, समानता र अधिकारका लागि निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो “स्थानीय सेवा जनतासम्म छिटो, सरल र प्रभावकारी रूपमा पुग्ने गरी हामी प्रयासरत छौँ।”

भवन उद्घाटन समारोहमा महाकुलुङ गाउँपालिका उपाध्यक्ष विपना कुलुङ, गाउँपालिकाका सबै वडा अध्यक्ष, वडा सदस्य, सरोकारवाला, स्थानीय अगुवाहरू तथा वडा १ का बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमले स्थानीय भावनालाई केन्द्रमा राख्दै विकास, सेवा र सुशासनप्रति जनआस्था झनै सुदृढ गरेको देखिएको छ।

नयाँ प्रशासनिक भवन सञ्चालनमा आएपछि वडा कार्यालयमार्फत प्रदान गरिने नागरिकता, सामाजिक सुरक्षाभत्ता, व्यक्तिगत घटना दर्ता, विकास निर्माणका योजना तथा दैनिक सेवा प्रवाह अझै सहज, पारदर्शी र समयमै हुने अपेक्षा गरिएको छ।

नेचासल्यान–१ का बासिन्दाले नयाँ संरचना केवल भवन मात्र नभई सेवा सुधार, विकासको गति र सुशासनप्रति जनप्रतिबद्धताको प्रतीक भएको टिप्पणी गरेका छन्।

प्रतिक्रिया