


लिखुपिके–३, चौलाखर्क। हिमगंगा माध्यमिक विद्यालयले भौतिक संरचना विस्तार तथा भविष्यको गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यसहित शुरु गरेको जग्गा खरिद अभियानलाई अत्यन्तै प्रेरणादायी सहयोग प्राप्त भएको छ। लिखुपिके गाउँपालिका–३ का वडा अध्यक्ष ध्रुव बहादुर बस्नेत (स्वतन्त्र जननिर्वाचित जनप्रतिनिधि) र विद्यालयकी शिक्षिका शुभद्रादेवी कार्की बस्नेतको जोडिबाट रु. १,०२,२२२/- (एक लाख दुई हजार दुई सय बाइस) आर्थिक सहयोग प्रदान गरिएको हो।

स्वतन्त्र जनप्रतिनिधि भएर पनि समाज र विद्यालय विकासमा उत्तिकै सक्रिय भूमिकामा रहनुभएका वडा अध्यक्ष बस्नेतको यो योगदानले स्थानीय तहमा जनप्रतिनिधिको नमूना चरित्र प्रस्तुत गरेको छ। जनताकै मर्म बुझेर, पदभन्दा पनि जिम्मेवारीलाई प्राथमिकता दिन सकिने उत्कृष्ट उदाहरण बस्नेतले पुनः देखाएका छन्।
विद्यालयले बस्नेत दम्पतीप्रति विशेष कदर तथा हार्दिक धन्यवाद व्यक्त गर्दै यस योगदानले छात्रवास (होस्टल), कृषि प्रयोगात्मक फिल्ड, खेल मैदान र आवश्यक भौतिक संरचनाहरु निर्माणको अभियानलाई थप गति प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।
हिमगंगा माध्यमिक विद्यालयका अनुसार “समाजका लागि सोच्ने, विद्यालयलाई आफ्नो भविष्यको जग्भन्दा पनि ठूलो सम्पत्ति ठान्ने व्यक्तिहरूका हातबाट प्राप्त सहयोगले हामीलाई अझै दृढ बनाएको छ। ध्रुव–शुभद्रा बस्नेतज्युहरूले देखाउनुभएको सकारात्मक उदाहरणले हामीलाई प्रेरित मात्रै गरेको छैन, यसको प्रभाव विद्यालयको दीर्घकालीन विकासमा महत्वपूर्ण हुनेछ।”
हिमगंगा माध्यमिक विद्यालयले यो अभियान कुनै एक वा दुई व्यक्तिको लागि होइन, सम्पूर्ण समुदायको साझै जिम्मेवारी भएको उल्लेख गर्दै आगामी दिनमा देश–विदेशमा रहनुभएका शुभचिन्तक, पूर्वविद्यार्थी, समाजसेवी तथा सम्पन्न व्यक्तित्वहरूबाट समेत निरन्तर सहयोगको हार्दिक अपेक्षा गरेको छ।

विद्यालयले सन्देशमा स्पष्ट भनेको छ “हिमगंगा हाम्रो गौरव हो, यसको उन्नत भविष्यका लागि सबैको हात आवश्यक छ।”
यसैगरी विद्यालय प्रशासन, व्यवस्थापन समिति, अभिभावक संघ र चन्दा संकलन तथा जग्गा खरिद समितिले पनि सबै सहयोगी मनहरूलाई अग्रिम धन्यवाद व्यक्त गर्दै अभियानलाई पारदर्शी, व्यवस्थित र सफल रूपमा अघि बढाइने प्रतिवद्धता जनाएका छन्।






