ओखलढुंगामा ‘मिस्टर एण्ड मिस स्नोज एम्बेष्टर’को अडिसन सम्पन्न, ७६ जना दोस्रो चरणमा चयन

ओखलढुंगा- स्नो सञ्चार प्रा. लि.को आयोजनामा आयोजित ‘मिस्टर एण्ड मिस स्नोज एम्बेष्टर’को अडिसन राउण्ड ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

शनिबार (कात्तिक २२ गते) सदरमुकाममा सम्पन्न अडिसनमा करिब १५० बढी प्रतिस्पर्धीले सहभागिता जनाएका थिए। तीमध्ये ७६ जना प्रतिभाशाली सहभागी दोस्रो चरणका लागि चयन भएका छन्।

प्रतिस्पर्धीहरुले नृत्य, अभिनय, गायन र वक्तृत्व (स्पिच) लगायतका विभिन्न कला प्रस्तुत गरेका थिए। प्रतियोगितामा ५ देखि १६ वर्ष१६ देखि ३० वर्ष उमेर समूहका सहभागीहरुका बीच प्रतिस्पर्धा गरिएको थियो।

छनोट प्रक्रिया निष्पक्ष र रोचक बनाउन आयोजकले ३० जनाका लागि वाइल्ड कार्ड इन्ट्रीको व्यवस्था पनि गरेको जनाएको छ। साथै, इच्छुक तर पहिलो अडिसनमा सहभागी हुन नसकेकाहरुलाई नजिकका स्थानीय तहमा हुने अडिसनमा सहभागी हुने अवसर दिइनेछ।

कार्यक्रममा गायक तथा कलाकार कल्याण राई, कोरियोग्राफर सिम्रिका खत्री, र स्नो सञ्चारका सिइओ सम्भव राउत क्षेत्री निर्णायक (जज) का रूपमा उपस्थित थिए।

स्नो सञ्चारका सिइओ क्षेत्रीका अनुसार, “ग्रामीण क्षेत्रमा लुकेका प्रतिभा खोज्ने र तिनीहरूलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउने उद्देश्यका साथ यो अभियान सुरु गरिएको हो। सिद्धिचरणमा देखिएको उत्साहजनक सहभागिताले हामीलाई अझ प्रेरणा दिएको छ,” उनले बताए।

आयोजकले ओखलढुंगाका सबै पालिकामा यस कार्यक्रमका अडिसन गर्ने तयारीसमेत गरेको जनाएको छ।

प्रतिक्रिया