


काठमाडौं । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा सामान्य बदली रहने अनुमान गरिएको छ। यी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा, साथै कर्णाली र सुदूरपश्चिमका पहाडी–हिमाली भूभागमा हल्का वर्षा हुने सम्भावना रहेको छ।
यस्तै, कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत हुने सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात हुने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार, बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको मध्य प्रदेश आसपासमा न्यून चापीय क्षेत्रको रूपमा सक्रिय रहेको र सो प्रणालीको कारणले नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित हुने देखिएको छ। त्यसपछि मौसममा क्रमिक सुधार हुने महाशाखाको अनुमान छ।
यात्रु, किसान र उच्च भू–भागमा बसोबास गर्ने नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

