


सोलुखुम्बु सल्यान – शिक्षा, संस्कार र सहयोगका लागि हाम्रो प्रयास’ भन्ने मूल नाराका साथ सोलुखुम्बु गुरुकुल विद्यार्थी सहयोग कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम लायन्स क्लब अफ काठमाडौँ युरेका र लियो क्लब अफ काठमाडौँ यूरेकाको संयुक्त आयोजनामा तथा रिजन चेयर पर्सन लाइन भरतबहादुर बस्नेत (लायन्स क्लब अफ काठमाडौँ फेलोसिप, लियो क्लब अफ टि.यू. यूरेका) को विशेष सहयोगमा सम्पन्न भएको हो। कार्यक्रम अन्तर्गत श्री गौरीशंकर गुरुकुल वेद विद्याश्रम, नेचासल्यान गाउँपालिका–२ का ३५ जना विद्यार्थीलाई ब्ल्याङ्केट, उत्तरपुस्तिका, ट्रयाकसुट, धोती कपडा र स्कुल ब्याग वितरण गरिएको हाे। सहयोग सामग्री पाएका विद्यार्थीहरूको अनुहारमा उत्साह र खुसी झल्किएको देखिन्थ्यो।

कार्यक्रमका प्रमुख अतिथि नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईले दियोमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभयो। उहाँले भन्नुभयो, “शिक्षा र संस्कार नै समाजको वास्तविक धरोहर हुन्। गुरुकुल जस्ता संस्थामा हुने यस्ता सहयोगले बालबालिकाको भविष्य उज्यालो बनाउन मद्दत गर्छ।”
विशिष्ट अतिथि गाउँपालिका शिक्षा अधिकृत माधवमणि ढुङ्गानाले सहयोगले मात्र होइन, यसले विद्यार्थीहरूमा सकारात्मक सोच र आत्मबल पनि वृद्धि गर्ने बताउँदै यस्ता अभियान निरन्तर रहनु आवश्यक रहेको उल्लेख गर्नुभयो।
त्यस्तै, विशेष अतिथि वडा नं. २ का वडाध्यक्ष सीताराम काफ्लेले गुरुकुलका बटुकहरूको अनुशासन र लगनशीलताको प्रशंसा गर्दै शिक्षाको विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
लायन्स क्लब अफ काठमाडौँ युरेकाकी अध्यक्ष पवित्रा घिमिरेले बालबालिकाहरूलाई सहयोग गर्न पाउँदा अत्यन्त खुसी लागेको बताउँदै, हराउँदै गएको कला र संस्कृतिलाई जोगाउँदै आएकोमा गुरुकुल परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो। साथै, उहाँले “हामी यहाँसम्म आउनुमा रिजन चेयर पर्सन भरतबहादुर बस्नेतको ठूलो सहयोग र साथ रह्यो,” भन्दै आभार प्रकट गर्नुभयो।
लियो क्लब अफ काठमाडौँ यूरेकाका अध्यक्ष निर्मलराज शाहीले आफ्नो क्लब सदैव सामाजिक सेवामा केन्द्रित रहेको बताउँदै, “हामी सहयोगका लागि सधैं तत्पर छौं र आवश्यक परेको ठाउँमा पुग्नेछौं,” भन्दै आगामी दिनमा पनि यस्ता सेवा कार्य जारी राख्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा रिजन चेयर पर्सन लाइन भरतबहादुर बस्नेतको सक्रिय र प्रेरणादायी भूमिका विशेष चर्चाको विषय बन्यो। उपस्थित सबै अतिथि तथा संस्थाले उहाँलाई विशेष धन्यवाद ज्ञापन गरे। त्यसैगरी, कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ युरेकाका उपाध्यक्ष सबिन गतौला, लियो क्लब अफ काठमाडौँ यूरेकाकी सचिव रोशनी खड्का, कोषाध्यक्ष नारायण सुनुवार र विकास व्यवस्थापक अनिशा कार्कीको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन श्री गौरीशंकर गुरुकुलका शिक्षक गिरिराज पौडेलले गर्नुभएकाे थियो ा कार्यक्रमका सभापति तथा संस्थापक संयोजक पुण्यप्रसाद दाहालले सम्पूर्ण सहयोगी संस्था, अतिथि र सहभागीलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभयो।
कार्यक्रममा गाउँपालिकाका बुद्धिजीवी, समाजसेवी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहयोग, शिक्षा र संस्कार प्रवर्धनका लागि सामुदायिक एकताको उत्कृष्ट उदाहरणका रूपमा यो कार्यक्रम स्थापित भएको सहभागीहरूको भनाइ थियो।

