


असोज ११, – सोलुखुम्बुको जिल्लास्तरीय वार्षिक समीक्षा गोष्ठी २०८१/८२ को नतिजा सार्वजनिक हुँदा सोलुदुधकुण्ड नगरपालिका स्वास्थ्य सूचकमा जिल्लाभित्र पहिलो स्थान हासिल गर्न सफल भएको छ।
गत असोज ७ गते र ८ गते २ दिन सम्पन्न समीक्षाका क्रममा, नेचासल्यान गाउँपालिका स्वास्थ्य क्षेत्रको सूचकमा उत्कृष्ट प्रगति गर्दै जिल्लाभित्र दोस्रो स्थानमा उक्लन सफल भएको छ। नेचासल्यानले पछिल्ला वर्षहरूमा प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण, मातृ-शिशु स्वास्थ्य सुधार, नियमित खोप अभियानलाई निरन्तरता, पोषण कार्यक्रमलाई प्रभावकारी बनाउनेदेखि रोग नियन्त्रणमा देखाएको सजगतालाई मूल्याङ्कन गर्दा उल्लेखनीय प्रगति गरेको स्वास्थ्य कार्यालय फाप्लुका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो।

नेचासल्यान गाउँपालिकाले गाउँ–गाउँमा स्वास्थ्य सेवा नजिक पुर्याउने, स्वास्थ्यकर्मीहरूको सक्रियता बढाउने, समुदायलाई सचेत पार्ने कार्यक्रमलाई निरन्तरता दिएको कारण यसपालि उच्च स्थानमा उक्लिएको हो। गाउँपालिका स्तरमै स्वास्थ्य सेवा सुदृढ पार्ने प्रयासलाई जनप्रतिनिधि, स्वास्थ्य शाखा, कर्मचारी तथा स्वास्थ्यकर्मीको सामूहिक प्रतिबद्धताको परिणामका रूपमा लिइएको छ।
जिल्लाभित्र तेस्रो स्थान महाकुलुङ गाउँपालिकाले हासिल गरेको छ। यस उपलब्धिले नेचासल्यान गाउँपालिकालाई अझ सक्षम र पहुँचमुखी स्वास्थ्य सेवा प्रवाह गर्ने दिशामा प्रेरणा दिने विश्वास गरिएको छ। आगामी दिनमा अझ गुणस्तरीय र परिणाममुखी स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता समेत गाउँपालिकाले व्यक्त गरेको छ।

