


असोज ८, सोलुखुम्बु । चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताको स्वास्थ्य र अधिकारलाई मध्यनजर गर्दै नेचासल्यान गाउँपालिकाले बजार अनुगमन गरेको छ। मंगलबार नेचासल्यान गाउँपालिका वडा न. २ स्थित बुधबारे बजार का होटल तथा पसलहरूमा गरिएको अनुगमनका क्रममा करिब १३ हजार रुपैयाँ बराबरका म्याद सकिएका सामग्री बरामद गरी नष्ट गरिएको हो।
गाउँपालिका उपाध्यक्ष विना राईको संयोजकत्वमा सम्पन्न अनुगमन टोलीले विभिन्न पसलहरूमा राखिएका खाद्य सामग्री, कस्मेटिक तथा अन्य उपभोग्य वस्तुहरू जाँच गरेको थियो। सो क्रममा म्याद गुज्रिएका सामग्री भेटिएपछि तत्कालै जफत गरी नष्ट गरिएको हो।
अनुगमनपछि उपाध्यक्ष राई यसो भन्नुहुन्छ, “मुख्य चाडपर्वको समयमा बजारमा उपलब्ध हुने रेडिमेड सामग्रीको गुणस्तर र म्यादप्रति संवेदनशील बन्नु जरुरी छ। उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकता दिँदै नेचासल्यान गाउँपालिकाले निरन्तर बजार अनुगमनलाई अघि बढाउँदै जानेछ।”
गाउँपालिकाले आगामी दिनमा पनि बजार क्षेत्रमा निरन्तर अनुगमन गर्ने जनाएको छ।

