नेचासल्यान गाउँपालिका वडा नं. ५ मा सार्वजनिक सुनुवाइ सम्पन्न

सोलुखुम्बु, । नेचासल्यान गाउँपालिका वडा नं. ५ मा मंगलबार सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा र सामुदायिक रेडियो सोलु एफएमको सहजीकरणमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष धनजन राई प्रमुख अतिथि रहनुभएको थियो ।

सुनुवाइ कार्यक्रममा वडा अध्यक्ष राजनकुमार राईले आर्थिक वर्ष २०८१/८२ को आय–व्यय विवरण प्रस्तुत गर्दै विगत एक वर्षमा भएका गतिविधिबारे जनतालाई जानकारी गराउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, पूर्वाधार र खेलकुद क्षेत्रमा गरिएको खर्च तथा प्रगतिबारे स्पष्ट पार्दै जनतामुखी कामलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न शाखा प्रमुखहरूले आफ्ना–आफ्ना क्षेत्रमा भएका काम, उपलब्धि र चुनौतीबारे विस्तृत विवरण प्रस्तुत गरे । सो अवसरमा स्थानीयवासीले उठाएका प्रश्न तथा जिज्ञासाको उत्तर सम्बन्धित अधिकारीहरूले तत्क्षण दिएका थिए ।

गाउँपालिका अध्यक्ष धनजन राईले चालु आर्थिक वर्षमा वडा नं. ५ का लागि समानुपातिक बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले दिपज्योति भवन निर्माण, सिँचाइ आयोजना, विद्यालय खेलमैदान, सडक मर्मतदेखि धार्मिक स्थल संरक्षणसम्मका योजनामा करोडौं रुपैयाँ छुट्याइएको जानकारी दिनुभयो । “सार्वजनिक सुनुवाइ नै जनप्रतिनिधि र जनतालाई नजिक ल्याउने माध्यम हो,” अध्यक्ष राईले भन्नुभयो, “यसलाई निरन्तरता दिँदै जवाफदेहिताको अभ्यासलाई बलियो बनाइनेछ ।”

गाउँपालिकाले वडास्तरमा मात्र नभई प्रदेश र संघीय बजेटमार्फत पनि ठूला आयोजना अघि बढाएको छ । छोलिङ गुम्बा संरक्षणका लागि मात्र ४५ लाख, गैरी–तिनकन्या सडक मर्मतका लागि ३० लाख र विभिन्न सिँचाइ तथा खेलकुद आयोजना गर्न थप रकम छुट्याइएको गाउँपालिकाले जनाएको छ ।

वडा सिलिङतर्फ पनि खानेपानी, लक्षित वर्ग, महिला, जेष्ठ नागरिक, दलित, अपांगता, खेलकुद र शैक्षिक क्षेत्रमा छुट्टाछुट्टै रकम विनियोजन गरिएको छ । त्यसैगरी नागरिकता, जन्म, मृत्यु, विवाह, बसाइँसराइ लगायतका सेवा माग गर्ने नागरिकहरूको संख्या उल्लेख्य रहेको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने २५८ जनाले प्रत्यक्ष लाभ लिएको तथ्यांक पनि सार्वजनिक गरियो ।

कार्यक्रममा सहभागी स्थानीयवासीले प्रस्तुत गरिएको विवरणलाई स्वागत गरेका छन् । उनीहरूले सार्वजनिक सुनुवाइमार्फत आफ्ना प्रश्नको प्रत्यक्ष जवाफ पाउन सकेको र योजनाबारे स्पष्ट जानकारी मिलेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया