नेचासल्यान–४ मा सार्वजनिक सुनुवाइ सम्पन्न

सोलुखुम्बु । नेचासल्यान गाउँपालिका–४ मा आज सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा तथा सामुदायिक रेडियो सोलु एफएमको सहजीकरणमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष इन्द्र राईको अध्यक्षता, गाउँपालिका अध्यक्ष धनजन राई प्रमुख अतिथि र उपाध्यक्ष बिना राई विशेष अतिथिका रुपमा सहभागी हुनु भएको थियो।

वडाध्यक्ष राईले आर्थिक वर्ष २०८१/८२ को खर्च विवरण, कार्य प्रगति र आगामी योजनाबारे जानकारी दिँदै जनसहभागिता र पारदर्शितामा जोड दिनुभयो। अध्यक्ष धनजन राईले विकासलाई समानरुपमा अघि बढाउने, पर्यटन र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताउनुभयो भने उपाध्यक्ष बिना राईले बालिकाको जन्मदेखि बचत योजना र विकास निर्माणमा निरन्तर अनुगमन भइरहेको जानकारी दिनुभयो।

वडाले प्रस्तुत गरेको बजेटमा सडक, पुल, विद्यालय खाजा कार्यक्रम, विपद व्यवस्थापन, फर्निचर, ग्याविङ व्यवस्थापन लगायतका शीर्षक समावेश छन्। २०८१/८२ मा वडाले कर तथा शुल्कमार्फत राजस्व संकलन, व्यक्तिगत घटना दर्ता (जन्म ४२, मृत्यु १२, विवाह १९, सम्बन्ध विच्छेद ३) र सामाजिक सुरक्षाभत्ता (३ सय २ लाभग्राही) वितरण गरेको विवरण पनि प्रस्तुत गरियो।

कार्यक्रममा जनप्रतिनिधि, टोल विकास समिति, किसान तथा महिला समूहका प्रतिनिधि र स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले योजनाहरू प्राथमिकताअनुसार छनोट भएकामा सन्तुष्टि व्यक्त गरेका छन्।

प्रतिक्रिया