नेचासल्यान–१ मा सार्वजनिक सुनुवाइ सम्पन्न

नेचासल्यान भदौ १४ – नेचासल्यान गाउँपालिका–१ मा शनिबार सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा सामुदायिक रेडियो सोलु एफएमको सहजीकरणमा गरिएको कार्यक्रममा वडास्तरीय कार्यप्रगति, खर्च विवरण र आगामी योजनाबारे खुलासा गरिएको हो।

सुनुवाइमा वडा अध्यक्ष रमेशकुमार राईले आर्थिक वर्ष २०८१/८२ मा वडा कार्यालयमार्फत खर्च भएको विवरण सार्वजनिक गर्दै विगत एक वर्षको उपलब्धि, चुनौती र सुधारका सम्भावनाबारे जानकारी गराए। साथै, स्थानीय सरोकारवालाको सुझावलाई आगामी दिनमा प्राथमिकतामा राखी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।

विभिन्न शाखा तथा इकाइ प्रमुखहरूले समेत आफ्ना–आफ्ना क्षेत्रका कार्यक्रम, खर्च र नतिजाबारे प्रस्ट विवरण प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी स्थानीय नागरिक, सामाजिक अभियन्ता र सरोकारवालाले प्रश्न, जिज्ञासा र गुनासाहरू राखेका थिए।

सोधपुछका जवाफमा वडा अध्यक्ष राईले बजेटको सीमितता, कार्यान्वयनका अवरोध र प्रक्रियागत कारणबारे स्पष्ट पारे। गाउँपालिका अध्यक्ष–उपाध्यक्षसहित स्थानीयको सक्रिय सहभागिता रहेको सुनुवाइ पारदर्शिता, जवाफदेहिता र जनसहभागितामा महत्वपूर्ण योगदान हुने सरोकारवालाहरूको भनाइ छ।

गाउँपालिकाले अन्य वडामा पनि क्रमशः सार्वजनिक सुनुवाइ गर्ने कार्यक्रम तय गरेको छ। भदौ १५ गते वडा नं. २, १७ गते वडा नं. ३, १८ गते वडा नं. ४ र २२ गते वडा नं. ५ मा सार्वजनिक सुनुवाइ हुने जनाइएको छ। यस्तै, गाउँपालिकास्तरीय सार्वजनिक सुनुवाइ भने भदौ ३० गते गाउँ कार्यपालिका भवनमा आयोजना गरिनेछ।

प्रतिक्रिया