


सोलुखुम्बु । लिखुपिके गाउँपालिका–५ स्थित भकान्जे स्वास्थ्य चौकीले आगामी आर्थिक वर्ष २०८२/८३ भित्र आफ्नै एम्बुलेन्स सुविधा पाउने भएको छ ।
हिमालयन गुगे नेपालको आर्थिक सहयोगमा उपलब्ध हुने उक्त एम्बुलेन्स सम्बन्धी निर्णय आज एक विशेष बैठकमार्फत भएको हो । सो अवसरमा हिमालयन गुगे नेपालका कार्यकारी निर्देशक टाँसी फिन्जो र उहाँकी श्रीमती सुष्मा गुरुङसँग भएको छलफलमा वडा अध्यक्ष ङिमा छिरि लामाले वडावासीको तर्फबाट मागपत्र पेश गर्नुभएको थियो ।
उक्त मागलाई स्वीकार गर्दै कार्यकारी निर्देशक फिन्जोले भकान्जे स्वास्थ्य चौकीलाई एम्बुलेन्स उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । यस निर्णयसँगै अब वडावासीले आकस्मिक स्वास्थ्य सेवामा समयमै एम्बुलेन्स नपाउने समस्या समाधान हुने र अत्यधिक शुल्क तिर्नु नपर्ने अपेक्षा गरिएको छ ।
यस सहयोगप्रति सम्पूर्ण वडावासीको तर्फबाट वडा अध्यक्ष लामा लगायत सबैले कार्यकारी निर्देशक फिन्जो र उहाँकी श्रीमती गुरुङलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

