


सोलुखुम्बु, । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–२, काँगेलमा रहेको सामाजिक मेलमिलाप युवा समूहले हरितालिका तिजको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। हिन्दु महिलाहरूको महान् चाड तिजलाई आत्मीयता र उत्साहसहित मनाउन भन्दै समूहले आयोजना गरेको कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक र परम्परागत कार्यक्रमहरु प्रस्तुत गरिएको थियो।

समूहका पूर्व सचिव युवराज बस्नेतका अनुसार, कार्यक्रमका प्रमुख आकर्षणमा परम्परादेखि निरन्तर चली आएको संगिनी नाच, म्युजिकल चियर, हन्डी फोड जस्ता खेलहरू रहेका थिए। महिलाहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रमले सामुदायिक एकता र परम्परागत संस्कारलाई संरक्षण गर्ने काम गरेको उनले लोकप्रिय मिडियालाई बताउनुभयो।

यस्तै समूहका वर्तमान सचिव सञ्जीव बस्नेतले तिजलाई महिलाहरूले एकआपसमा खुसी साट्ने र सामाजिक मेलमिलाप बढाउने अवसरका रूपमा लिने गरेको बताउनुभयो। उहाँका अनुसार , “हिन्दु महिलाहरूले रमाइलो गर्दै संस्कृतिलाई जोगाउने अभियानमा सहभागिता जनाउनु गर्वको विषय हो।”
सांस्कृतिक कार्यक्रमलाई अझ रोचक बनाउन विभिन्न प्रतियोगिताहरू समेत सञ्चालन गरिएका थिए। सहभागी प्रतियोगीलाई सम्मानस्वरूप पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमले काँगेल गाउँमा तिजको उल्लास मात्र बढाएन, स्थानीय युवा तथा महिलालाई आफ्नो संस्कृति र परम्पराप्रतिको लगाव अझ प्रगाढ बनाउन प्रेरणा पनि दिएको सहभागीहरूको भनाइ थियो।


