लिखुपिकेमा एम भी दुगड ग्रुपका हाइड्रोपावरबारे गुनासो, मन्त्री खड्काको निर्देशनमा छानबिन समिति बन्ने

काठमाडौं ,बुधबार । लिखुखोला क्षेत्रमा एम भी दुगड ग्रुपले सञ्चालन गरेका विभिन्न हाइड्रोपावर कम्पनीहरूले वातावरणीय प्रभाव मूल्यांकन (EIA) मा तोकिएका सामाजिक उत्तरदायित्वका कार्य नगरेको भन्दै लामो समयदेखि स्थानीयवासी र गाउँपालिका असन्तुष्ट रहँदै आएका छन्।

ग्रामीण विद्युतीकरण, स्थानीय रोजगारी, सामाजिक उत्तरदायित्व कार्यक्रम र स्थानीय सेयर वितरणजस्ता विषय बेवास्ता गर्दै आएको भन्दै लिखुपिके गाउँपालिका निरन्तर पत्राचार र संघर्ष गरिरहेको छ। गाउँपालिकाले नुम्बुर हाइड्रोपावरको सेयर प्रिमियममा खुलाउने अनुमति नदिन धितोपत्र बोर्डलाई समेत पत्राचार गरिसकेको छ।

यसैबीच, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री आदरणीय दीपक खड्काको समन्वयमा शुक्रबार मन्त्रालयमा विशेष छलफल भएको हो। छलफलमा लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत, विद्युत् विकास विभागका अधिकारी, एम भी दुगड ग्रुपका प्रतिनिधि र हाइड्रोपावर संघर्ष समितिका सदस्यहरू सहभागी थिए।

छलफलपछि मन्त्री खड्काले विद्युत् विकास विभागका महानिर्देशकलाई तत्काल समिति गठन गरी स्थलगत छानबिन गर्न र समस्या समाधानका लागि आवश्यक पहल गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया