


सोलुखुम्बु । नेचासल्यान गाउँपालिका–२ मा अवस्थित बी.पी. संस्कृत माध्यमिक विद्यालयका १३० जना विद्यार्थीलाई सोमबार एक विशेष कार्यक्रमका बीच विद्यालय झोला वितरण गरिएको छ । सोलुखुम्बु जिल्लाको एक मात्र संस्कृत माध्यमिक विद्यालय भएकाले यस विद्यालयमा भएको झोला वितरण कार्यक्रममा स्थानीय समुदायमा विशेष चासो देखिएको थियो ।

वरिष्ठ पर्यटन व्यवसायी मिङ्मा दोर्जी शेर्पा, मिङ्मा शेर्पा, युके निवासी समाजसेवी पुष्पा राई र राधा मटांगीको आर्थिक सहयोगमा सो वितरण गरिएको हो । पहलकर्ता समाजसेवी रिता शाही तथा बीपी संस्कृत मावि पूर्वविद्यार्थी समाजकी कोषाध्यक्ष राधा ढुंगानाले सहयोगदाताहरूलाई विद्यालय पुर्याई विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गराएका थिए ।
विद्यार्थीलाई सामग्री हस्तान्तरणपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज केसीले सहयोगदाताप्रति आभार व्यक्त गर्दै, “यस्ता सहयोगहरूले विद्यार्थीहरूलाई अझ राम्रोसँग पढाइमा प्रेरणा दिन्छन्,” भने । प्रधानाध्यापक उमाकान्त काफ्लेले प्राप्त झोलाले विद्यार्थीहरूलाई अध्ययनप्रति उत्साहित र जिम्मेवार बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । शिक्षक–अभिभावक संघका अध्यक्ष मिलन केसीले काठमाडौँदेखि टाढासम्म पुगेर गरिएको सहयोगप्रति कृतज्ञता जनाउँदै यसले स्थानीय र बाह्य समुदायबीचको सम्बन्ध अझ घनिष्ठ बनाउने बताए ।

यसैबीच, सहयोगदाता मिङ्मा दोर्जी शेर्पाले भने, “हामीबाट सानो सहयोग भए पनि यसले विद्यार्थीहरूको भविष्य निर्माणमा योगदान पुर्याउने विश्वास लिएका छौँ । विद्यार्थीहरूले मन लगाएर अध्ययन गर्दा मात्रै हाम्रो सहयोगको वास्तविक अर्थ पूरा हुन्छ ।” कार्यक्रममा विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीहरूले अतिथिहरूलाई न्यानो स्वागत गरेका थिए । विद्यार्थीहरूले पनि सहयोगदाताप्रति आभार प्रकट गर्दै भविष्यमा मेहनत र लगनशीलताका साथ अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

