


सोलुखुम्बु । जिल्ला अस्पताल फाप्लुले आर्थिक वर्ष २०८१/८२ मा १७ हजार ३ सय ६८ बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।अस्पतालका मेडिकल रिपोर्डर सुपरभाइजर सुजा गुरुङका अनुसार सो अवधिमा नियमित बाह्य बिरामी (ओपीडी) सेवाबाट १२ हजार ७६५ जना, आकस्मिक सेवाबाट २ हजार ८५४ जना र भर्ना सेवाबाट १ हजार ७४९ जना लाभान्वित भएका छन् ।
ओपीडी सेवामा ५ हजार ४७८ पुरुष र ७ हजार २८७ महिला बिरामी पुगेका थिए भने आकस्मिक सेवामा १ हजार ५१३ पुरुष र १ हजार ३४१ महिला उपचारका लागि आएका थिए ।
५४ शय्या क्षमता भएको फाप्लु अस्पतालले जिल्लाका दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालमा प्रसूति, शल्यक्रिया, प्रयोगशाला, एक्स–रे, अल्ट्रासाउन्डसहितका सेवा नियमितरूपमा सञ्चालन छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला टेक्ने सर एडमन्ड हिलारीले ५४ वर्षअघि स्थापना गरेको फाप्लु अस्पताल हाल ६४ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

