सार्वजनिक स्थल सफाइमा जुनतारा युवा क्लब

सोलुखुम्बु । नेचासल्यान–३ स्थित जुनतारा युवा क्लबले सञ्चालन गर्दै आएको “बाह्र महिना, बाह्र दिन सार्वजनिक स्थलहरुको सरसफाइ अभियान” अन्तर्गत चौथो महिनाको कार्यक्रम शनिबार सम्पन्न भएको छ । अभियान अन्तर्गत २०८२ साल साउन ३१ गते शनिबार जुनतारा युवा क्लबको कार्यालय गैरिबारि, लट्टेको चौतारा हुँदै पुरानो गोरेटो बाटोलाई आधार मानी कालिका आधारभूत विद्यालयसम्म सरसफाइ गरिएको क्लबका अध्यक्ष भिम भट्टराईले जानकारी दिनुभयो ।

यसअघि पनि गैरीबारी, गुराँसको फेदी हुँदै बिहिबारे बजार परिसर, लटेको चौताराबाट राधा कृष्ण मन्दिर परिसर, तथा फुर्के पोखरी हुँदै त्रिशुल डाँडासम्म सरसफाइ गरिएको थियो । अध्यक्ष भट्टराई का अनुसार अभियानमा स्थानीयवासी, विद्यार्थी, संघ–संस्था र युवाहरूको उल्लेख्य सहभागिता रहँदै आएको छ ।

जुनतारा युवा क्लब को यो सरसफाइ अभियान” केवल सरसफाइमा मात्र सीमित नभई स्थानीय तहमा सामूहिक चेतना अभिवृद्धि गर्ने, युवालाई सक्रिय बनाउन र सार्वजनिक स्थललाई सुरक्षित र आकर्षक बनाउने साझा अभियानका रूपमा अघि बढेको छ । यसले स्थानीय बासिन्दा, विद्यार्थी र संघ–संस्थाबीच सहकार्य र एकताको वातावरण सिर्जना गरेको छ भने प्रत्येक महिनाको अन्तिम शनिबारलाई “सामूहिक सरसफाइ दिवस” को रूपमा स्थापित गर्ने प्रयास गरेको छ ।

यसरी निरन्तरता पाए सरसफाइ मात्र नभई सिंगो समाजमा सकारात्मक परिवर्तन र दीगो विकासको आधार निर्माण हुने देखिन्छ ।

प्रतिक्रिया