


साउन २९, सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–स्थित हिमाल दर्शन माध्यमिक विद्यालयले “५० वर्ष ५० संकल्प” अभियानको अन्तिम लक्ष्य पनि पूरा गरेको छ। विद्यालयले बिहीबार आयोजना गरिएको विशेष समारोहमार्फत अन्तिम संकल्पअन्तर्गत हिमाल स्मारिका ३ , २०८१ को प्रकाशन तथा विमोचन गर्दै पाँच दशकको यात्रालाई ऐतिहासिक रुपमा दस्तावेजमा उतारेको हो।

स्मारिकाको तेस्रो अंकमा स्थापना कालदेखि हालसम्मका संस्थापक, प्रधानाध्यापक, जग्गादाता, पूर्वविद्यार्थी, सहयोगी दाता, विद्यालयसँग सम्बन्धित महत्वपूर्ण व्यक्तित्व र अभिलेखहरू समेटिएका छन्। यस अवसरमा विद्यालयले गत माघ १३ देखि १९ गतेसम्म एक साता मनाइएको स्वर्ण जयन्ती कार्यक्रमको आय–व्यय विवरण पनि सार्वजनिक गर्यो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओम प्रसाद बास्तोलाको अध्यक्षतामा, गाउँपालिका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्य र उपाध्यक्ष विना राईको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा, स्वर्ण जयन्तीका विभिन्न गतिविधिबाट ४७ लाख ८ हजार २ सय १८ रुपैयाँ सहयोग संकलन भएको जानकारी दिइयो। त्यस मध्ये २४ लाख ५५ हजार ७ सय ७६ रुपैयाँ खर्च भई २२ लाख ५२ हजार ४ सय ४२ रुपैयाँ विद्यालयको खातामा मौज्दात रहेको बताइयो। साथै कबुल गरिएको सहयोग रकम मध्ये ५६ हजार ८ सय १६ रुपैयाँ अझै प्राप्त हुन बाँकी रहेको पनि उल्लेख गरियो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष धनजन राईले हिमाल दर्शन माध्यमिक विद्यालयलाई गाउँपालिकाकै नमुना शिक्षालयको रूपमा वर्णन गर्दै, शैक्षिक क्षेत्रमा यसको योगदान प्रशंसनीय रहेको बताए। उपाध्यक्ष विना राईले स्मारिका प्रकाशनलाई विद्यालयको स्वर्णिम इतिहासको महत्वपूर्ण दस्तावेज ठहर गर्दै, सर्वपक्षीय एकताले मात्र यस्ता कार्यक्रम र योजनाहरू सफल हुने उल्लेख गर्नुभयो।
स्मारिका विश्लेषकहरूले यस प्रकाशनलाई पठनयोग्य र सन्दर्भयोग्य बताउँदै, आगामी संस्करणमा देखिएका साना त्रुटिहरू सच्याउन सुझाव दिए। विद्यालयका लागि यो केवल स्मारिका विमोचन मात्र नभई, ५० वर्षको सम्पूर्ण यात्रालाई औपचारिक रूपमा पूर्णता दिने ऐतिहासिक क्षण भएको सहभागीहरूले बताएका थिए।

