


साउन २२ – नेचासल्यान गाउँपालिकाले काठमाडौँमा सञ्चालन गरेको चारदिने एकीकृत सेवा शिविरबाट १,१०० भन्दा बढी नागरिकले सेवा लिएका छन्। स्थायी रूपमा नेचासल्यानमा तर हाल काठमाडौँमा अस्थायी बसोबास गर्दै आएका पालिकाबासीलाई लक्षित गरी उक्त शिविर साउन १९ गतेदेखि २२ गतेसम्म सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सञ्चालन गरिएको हो।
गाउँपालिका अध्यक्ष धनजन राईका अनुसार, काठमाडौँमा रहेका नागरिकलाई सहज रूपमा सेवा दिन शिविर आयोजना गरिएको हो। वडागत रूपमा सेवा लिने नागरिकको संख्या यसप्रकार छ:
वडा नं. १ – १९३ जना
वडा नं. २ – १२८ जना
वडा नं. ३ – १३० जना
वडा नं. ४ – ९१ जना
वडा नं. ५ – ९८ जना
शिविरमार्फत १२ जनाले ज्येष्ठ नागरिक परिचयपत्र, ३१३ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् भने २०४ जनाको नयाँ राष्ट्रिय परिचयपत्र दर्ता गरिएको छ। परिचयपत्रसम्बन्धी मात्रै ५२९ जनाले सेवा लिएका छन्।
शिविरबाट कुल रु. १ लाख २२ हजार ३ सय ४२ राजस्व संकलन भएको छ। वडागत विवरण अनुसार सबैभन्दा बढी वडा नं. १ बाट रु. ३८,६९० संकलन भएको हो।
गाउँपालिका उपाध्यक्ष विना राईका अनुसार सेवा लिन गाउँ फर्कनुपर्ने बाध्यता हटाउन पालिकाले आफैँ सेवा लिएर काठमाडौँ पुगेको हो। “२०–२५ हजार खर्च गरेर गाउँसम्म पुग्नुपर्ने अवस्थालाई कम गर्न हामी नागरिकको आँगनमै सेवा लिएर गयौं,” उपाध्यक्ष राईले भनिन्। गाउँपालिकाको यो पहललाई नागरिकले सराहना गरेका छन्।

