नेचासल्यान गाउँपालिकाको एकीकृत सेवा शिविर मा दुई दिनमै ५६७ जनाले लिए सेवा

काठमाडौं, साउन २० – सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकाले काठमाडौंमा आयोजना गरेको एकीकृत सेवा शिविरमा उल्लेखनीय संख्यामा नागरिकहरूले सेवा लिएका छन्। काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा साउन १९ गते सोमबारदेखि सुरु भएको तीन दिने शिविरमा आज दोस्रो दिनसम्म ५६७ जनाले प्रत्यक्ष रूपमा विभिन्न सेवा प्राप्त गरेका छन्।

शिविरको पहिलो दिन १७३ जनाले सेवा लिएका थिए भने दोस्रो दिन थप ३९६ जनाले सेवा प्राप्त गरेका छन्। दुई दिनमा मात्रै गाउँपालिकाले कुल ४८ हजार ३१३ रुपैयाँ राजस्व संकलन गरेको छ।

एकीकृत सेवा शिविरमार्फत गाउँपालिकाका पाँचै वडाका बासिन्दाहरूलाई राष्ट्रिय परिचयपत्र वितरण तथा नवीकरण, सिफारिस, पञ्जीकरण, मालपोत तथा भूमिकर तिरो लगायतका प्रशासनिक सेवा प्रदान गरिँदैछ।

गाउँपालिका प्रशासनका अनुसार, तीन दिनभित्र सबै सेवाग्राहीलाई सेवा दिन नसकेमा एक दिन थप गरेर भए पनि सबै काम सम्पन्न गरेर फर्किने योजना बनाइएको छ। दूरदराजका नागरिकहरूको पहुँचलाई मध्यनजर गर्दै काठमाडौंमा आयोजित यो शिविरमा बढ्दो सहभागिता देखिनु सकारात्मक संकेत भएको गाउँपालिका अध्यक्षले बताएका छन्। सेवा प्रवाह प्रभावकारी बनाउने र नागरिकहरूलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो शिविर आयोजना गरिएको जनाइएको छ।

प्रतिक्रिया