


सोलुखुम्बु – खुम्बुपासाङल्हमु गाउँपालिका–४, खुम्जुङमा सम्पन्न ३०औं कोन्छोम्बो शेर्पा स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक खुम्जुङ युवा क्लबले जितेको छ।
शनिबार भएको रोमाञ्चक फाइनल खेलमा खुम्जुङले माप्यदुधकोशी गाउँपालिकाको टोलीलाई हराउँदै च्याम्पियन बनेको हो। उपविजेता बनेको माप्यदुधकोशी टिमले दोस्रो स्थानमा सन्तोष मान्नुपर्यो।
त्यस्तै, पाङ्बोचेस्थित आमा डब्लम युवा क्लबले तेस्रो स्थान हासिल गरेको छ। प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेका पवन बस्नेत उत्कृष्ट खेलाडी घोषित भएका छन् भने खुम्जुङ मा वि अनुशासित टोलीको रूपमा छानिएको छ।

विजेता टिमले १ लाख १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेताले ६० हजार, र तेस्रो हुने टिमले ३० हजार रुपैयाँ पुरस्कारमा पाएका छन्।
साउन ९ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाभित्रका ६ वटा टिमको सहभागिता रहेको थियो।

