प्राथमिक स्वास्थ्य केन्द्र सल्यानलाई उत्कृष्ट स्वास्थ्य संस्था घोषणा

सोलुखुम्बु,सल्यान – कोशी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालय सोलुखुम्बुद्वारा नेचासल्यान गाउँपालिका अन्तर्गत सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्र सल्यानलाई उत्कृष्ट स्वास्थ्य संस्था घोषित गरिएको छ।

आर्थिक वर्ष २०८१/०८२ मा खोप कार्यक्रमसम्बन्धी विभिन्न सूचकहरूमा उत्कृष्ट कार्यसम्पादन गरेको आधारमा केन्द्रलाई जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा प्रमाण–पत्र प्रदान गरिएको हो।

स्वास्थ्य कार्यालय सोलुखुम्बुको आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे, जिल्ला खोप समन्वय समितिका अध्यक्ष कृष्ण प्रसाद निरौला र सदस्य सचिव सुमन तिवारीले संयुक्त रूपमा प्रमाण–पत्र प्रदान गरेका थिए।

यस सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र सल्यानका प्रमुख डा. अनिल राय यादवले लोकप्रिय मिडियालाई जानकारी दिदै, “यो सम्मान सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सामूहिक प्रयास र स्थानीय जनसहभागिताको परिणाम हो। आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रवाह गर्न हाम्रो टिम कटिबद्ध रहेको बताउनु भयो

कार्यक्रममा बोल्ने वक्ताहरूले आगामी दिनहरूमा अझ प्रभावकारी, समावेशी तथा स्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सल्यान स्वास्थ्य केन्द्रले प्रेरणादायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।

प्राथमिक स्वास्थ्य केन्द्र सल्यानको यो उपलब्धि नेचासल्यान गाउँपालिकाको समग्र स्वास्थ्य सेवा क्षेत्रमा थप प्रेरणा र उत्साहको स्रोत बन्ने विश्वास गरिएको छ।

(प्रकासन मितिमा केही त्रुटि भएकाले अहिले शुद्ध बनाइसकिएको छ )

प्रतिक्रिया